पोखरा सार्वजनिक पुस्तकालयलाई शिक्षाविद् जर्ज जोनद्वारा एक लाख प्रदान

Share:

रञ्जन अधिकारी  पोखरा, २९ असोज / पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसका संस्थापक प्राचार्य शिक्षाविद् जर्ज जोन अहिले पनि शिक्षा क्षेत्रमा सक्दो योगदान गरिरहेका छन् । यहँका शैक्षिक गतिविधि तथा कार्यक्रमहरुमा ढल्कँदो उमेरमा पनि सक्रिय सहभागिता जनाउँदै आएका जर्ज जोनले पोखरा सार्वजनिक पुस्तकालयलाई एक लाख सहयोग प्रदान गरेका छन् ।

महेन्द्रपुल स्थित पुस्तकालयको अक्षयकोषमा सहयोग पु¥याउने हेतुले उनले सो रकम पुस्तकालयलाई हस्तान्तरण गरेका हुन् । नेपालीहरुको महान पर्व शुभविजयादशमी, दीपावली, छठ, नेपाल सम्वत्, ईद लगायतका पर्वको पुर्वसन्ध्यामा पुस्तकालयले शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा उनले सो रकम बराबरको चेक पुस्तकालयका अध्यक्ष प्रा.डा. विश्व श्रेष्ठलाई हस्तान्तरण गरे ।

‘पुस्तकालयको औचित्य कम भएको छैन, झन् बढेको छ तर पुस्तकालयहरु संचालनमा कठिनाई छन्’– शिक्षाविद् जर्जले भने– ‘यहाँहरुको अभियानमा मैले सानो सहयोग गरेको हुँ । थोरै भएपनि पुस्तकालयको हित हुनेछ भन्ने विश्वास लिएको छु ।’ अध्यक्ष श्रेष्ठले अक्षयकोषमा प्राप्त रकम कहिल्यै क्षय नहुने भन्दै शिक्षा विद् जर्ज जोनको यो अमुल्य सहयोग कहिल्यै नभल्ने र स्मारिकाको रुपमा रहने बताए । शिक्षाको ज्योति छर्ने जर्ज जोन जस्ता व्यक्तित्व पोखराले पाउनु गौरवको कुरा भएको बताए ।

पुस्तकालयले एक करोडबढिको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ । यसले समयानुसार पुस्तकालको स्तरोन्नति, यसको व्यवस्थापनमा ठूलो सघाउ पुग्ने विश्वास रहेको सहसचिव सूर्य क्षेत्रीले बताए । ‘समाजसेवी तथा संघसंस्थाबाट प्राप्त सहयोग ग्रहण गरी अक्षयकोष स्थापना गरिएको छ । ’ – क्षेत्रीले भने– ‘हालसम्म १८ लाख ५० हजार प्राप्त भएको छ । पाँच रुपैंया नै किन नहोस्, हामीले पहिल्यैदेखि अक्षयकोषमा जम्मा गर्दै आएका छौं ।’

शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व अध्यक्ष एवं स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, पुस्तकालयका सचिव अर्जुन श्रेष्ठ, कोषाध्यक्ष गोविन्द ताम्राकार, सदस्यहरु श्याममोहन आले, पशुपति श्रेष्ठ, पुस्तकालय सहायक रामचन्द्र क्षेत्री लगायतको उपस्थिति थियो ।

पोखरा उपमहानगरपालिका कार्यालय, पोखरा उद्योग वाणिज्य संघ तथा अमेरिकन लाईब्रेरीको सहयोगमा २०४९ सालबाट संचालित सो पुस्तकालयमा ई लाईब्रेरीको सुविधा समेत छ । पाठकहरुले अनलाईन श्रोतहरुबाट उपलब्ध सबै सामाग्री अध्ययन गर्न सक्नेछन् । पुस्तकालयमा विभिन्न विधाका १२ हजार थान अध्ययन सामाग्रीहरु संग्रहित छन् । यस्तै, पुस्तकालयमा सबै प्रकारका पत्रपत्रिकाहरु अध्ययन गर्न समेत पाईनेछ । पुस्तकालयको आजीवन सदस्य बन्न व्यक्तिगत तर्फ तीन हजार तथा संस्थागत सदस्य बन्न १० हजार तिर्नुपर्नेछ ।

नेपालमा करीब एक हजार सार्वजनिक सामुदायिक पुस्तकालय स्थापना भएका छन् । पोखरामा हाल तीन सामुदायिक पुस्तकालय मात्र सञ्चालित छन् । वि.सं. १८६९ भदौ १५ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले पुस्तक चिताई तहबिलमा पुस्तकालयाध्यक्ष तोकिदिएको व्यवस्थालाई आधार मान्दै २०६५ सालदेखि भदौ १५ मा नेपालमा औपचारिक रुपमा पुस्तकालय दिवस पनि मनाईंदै आएको छ । पुस्तकालयका दिवसमा अक्षयकोषका सहयोगदाता जर्ज जोन गत भदौमा सम्मानित समेत भएका थिए । उनीसँगै संस्थागत तर्फ पाल्पाको धबल पुस्तकालयलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: