बेलायतमा साङ्गीतिक यात्रा सकेर फर्किइन् बिग आइकन मुस्कान

Share:

बिग न्युज पोखरा, ५ कार्तिक । पश्मिाञ्चलकै नं १ एफएम बिग एफएम १०१.२ मेगाहर्जले वर्षेनी आयोजना गर्ने गायन रियालिटी शो बिग आइकनकी चौंथो विजेता मुस्कान रानाभाट यूकको साङ्गीतिक भ्रमण सकेर नेपाल फर्किएकी छिन् । गत अक्टोबर १ मा लन्डन पुगेकी मुस्कान अक्टोबर २० मा नेपाल आइपुगेकी हुन् ।

काठमाण्डौं स्थित द ब्रिटिश कलेजको प्रायोजन र लन्डनबाट प्रकाशित हुने युरोपको नेपालीपत्रको व्यवस्थापनमा उनी लन्डन गएकी हुन् । द ब्रिटिश कलेजले छैटौं बिग आइकनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाइसकेको छ । मुस्कानको साथमा बिग एफएमका अध्यक्ष महेश भण्डारी समेत रहेका थिए । उनिहरुलाइ गत मंगलबार पोखरा बिमानस्थलमा बिग एफएमका कार्यक्रम संयोजक संजोग बस्याल र एफएमका समाचार प्रमुख माधब पनेरुले स्वागत गरेका थिए ।
मुस्कानले बेलायत गएका बेला आधा दर्जन बढी साङ्गीतिक कार्यक्रममा आफ्नो प्रस्तुति राखिन् । साथै बेलायतका मुख्य मुख्य शहर, पुराना दरबार , सामुद्रिक किनार,

चर्चित लण्डन ब्रिज लगायतका स्थानहरुको भ्रमण समेत गरिन् । लण्डनभन्दा चारसय माइल पर रहेको पुरानो शहर स्कटल्याण्ड र दुइसय पचास माइल पर रहेको आधुनिक ब्राइटन शहर, त्याहाँ स्थित सामुद्रिक किनारको पनि उनले अवलोकन गरिन् ।

यस्तै लण्डन स्थित प्लमस्टीड, हन्स्लो, ग्रिनविच, अल्टरसट लगातका ठाउँमा आयोजना गरिएको कार्यक्रममा मुस्कान मुख्य आकर्षणको रुपमा रहिन् ।उनले प्रस्तुती राखेका हरेक कार्यक्रममा सम्मान पनि गरिएको थियो । ‘बिग आइकन उपाधिले मेरो गायन करिअरमा पनि ठूलो टेवा दिएको छ’, उनले भनिन् ‘बेलायत यात्राको क्रममा त्याहाँका नेपालीहरुले दर्शाएको माया र सम्मानले म आफुलाई बिग आइकन बन्नुमा गौरव महशुस गरेको छु।’ ११ वर्षको उमेरमै वाल गीतहरुको संग्रह ‘बेबी मुस्कान’ निकालेकी मुस्कानको अर्को एल्बम आउने तयारीमा छ । सात वर्षयता गायन प्रशिक्षण लिइरहेकी उनी गीत संगीतमै समर्पण हुने बताउंछिन् ।

यस्तै बिग एफएमका अध्यक्ष महेश भण्डारीले स्थानीय प्रतिभाहरुलाई अवसर दिन र संगीत पुनर्जागरणका लागि प्रतियोगिताको आयोजना गर्ने गरिएको बताए । ‘संगीतको उर्वर भूमि पोखराबाट लोकल ट्यालेन्ट निस्किएनन, संगीत सिर्जना भएन भनेर हामीले प्रतियोगिताको परिकल्पना गर्यौं’, भण्डारी भन्छन्, ‘हामी विजेतालाई अन्तर्रा्िष्ट्रय मञ्चको अवसर दिएर नेपाली संगीत प्रवर्धन गर्ने प्रयासमा तल्लीन छौं ।’ अब केही समयमै पाँचो बिग आइकन कुन्साङ गुरुङ पनि बेलायतमा साङ्गीतिक यात्राका लागी जाने उनको भनाइ छ।

नेपालमै सर्वाधिक पुरस्कार राशी रहेको उक्त गायन प्रतियोगितामा गत वर्ष ४९ जिल्लाबाट करिब ९ सयले भाग लिएको भण्डारीले जनाए । पप वा आधुनिक गीत गाउन सकिने उक्त प्रतियोगितामा २५ अडिसनमार्फत अन्तिम तीन जना छानेर दर्शकको एसएमएस भोट मार्फत एकजना विजेता चुन्ने प्रावधान छ ।

जुनसुकै उमेर समूहले भाग लिन पाउने उक्त प्रतियोगिताको छैटौं संस्करण यही मंसिर १ मा हुंदैछ । जसका लागीे बिग एफएमको कार्यलय न्युरोडमा निशुल्क फारम बितरण भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: