
पोखरा,६ कार्तिक।
देशभरका नेपाली हिन्दूहरु अहिले बडादशै अन्तर्गत नवदुर्गा भवानीको प्रसाद टिका र जमरा लगाएर मान्यजनबाट आशिष लिन व्यस्त छन् ।
दुर्गा विसर्जनपछि परिवारमा सवैभन्दा जेठो व्यक्तिसँग क्रमसः टिका थापेकाहरु आज बाकि आफन्तको घरमा टिकाटालो गर्न जाने गर्दछन् ।
विशेष गरी मामाघर, ससुराली र बुढोमावलीमा मान्यजनबाट टिका लगाउन जाने चलन छ । एकै दिन टिका लगाउन नभ्यानेहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने चलन छ भने केहि क्षेत्रहरुमा चाँहि दशमीको एक दिन मात्रै टिका लगाउने चलन छ ।
परिवारमा जेठो व्यक्तिले दशैंको टीका लगाइदिएपछि गच्छे अनुसारको दक्षिणा दिने चलन छ भने आफन्तको घरमा टिका लगाउन जाँदा कोसेली लैजाने चलन छ ।
अझ पहिलोपल्ट ससूराली जानेहरुले विशेष कोसेली तथा उपहारहरु लैजाने गर्छन् । मान्यजनहरुले छोरी, ज्वाई, भान्जाभान्जीलाई टिकासँगै आशिर्वाद र दक्षिणा पनि दिने चलन छ ।
