
विग न्यूज
चितवन, १९ कात्तिक | नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनको तेस्रो अधिवेशनमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेपछि यतिबेला सर्वसम्मतीका लागि निकै दबाब परेको छ । ईक्यानको केन्द्रिय कार्यसमितिले समेत चितवनमा चुनाव बिना नै सर्वसम्मत रुपमा कार्यसमिति चयनको लागि पहल शुरु गरेको छ ।
ईक्यान चितवनको तेस्रो अधिवेशनमा सहभागी हुन यतिबेला चितवनमा केन्द्रिय कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु आईपुगेका छन् । र, केन्द्रिय प्रथम उपाध्यक्ष प्रकाश पाण्डेको सँयोजकत्वमा ईक्यान चितवनको नयाँ कार्यसमिति सर्वसम्मत छनौटको लागि छलफल भैरहेको छ । ‘सर्वसम्मतीमा सहमती हुने संभावना ज्यादा देखिएको छ ।’ ईक्यान कास्कीका अध्यक्ष तथा केन्द्रिय सदस्य महेश भण्डारीले भने–‘सबैको जोड पनि सर्वसम्मतीकै लागि छ ।’
ईक्यान चितवनको तेस्रो अधिवेशनका लागि अध्यक्ष पदमा हाल ईक्यान चितवनका सँयोजक रहेका जीवन रिजाल र संस्थापक अध्यक्ष सोमबहादुर कँडेल चुनावी मैदानमा देखिएका छन् । दुवै जनाले संस्थाको हितको लागि आफुले अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।
चितवनमा ईक्यान सम्बद्ध भोटर सँख्या जम्माजम्मी ३६ रहेको छ । र, ६ महिना भन्दा पुरानो सदस्यहरु ११ जना मात्रै छन् ।
