
पोखरा, २० कात्तिक ।
भारतले गरेको अघोषित नाकाबन्दीले इन्धन, ग्यास लगायत अत्यावश्यक सामाग्रीको अभाव भईरहेका बेला लमजुङको करापुटार नगरपालीका लक्ष्मि बजारका रदि मियाले बनस्पतिबाट ग्यास उत्पादन गरेका छन् ।
यस अघि अल्ट्रा लाइट बनाएर चर्चामा आएका युवा बैज्ञानिक मियाले गाउँमा पाईने विभिन्न सामाग्री प्रयोग गरेर ग्यास उत्पादन गरेका हुन् । “गाउँ घर तिर पाइने बनस्पतिको प्रयोग गरेर मैले यो ग्यास उत्पादन गरेको हुँ”, रदिले भने ।
उनले सालधुप, बाँसको पानी लगायतका समाग्रीलाई मिसाएर ग्यास उत्पादन गरेका छन् । ग्यास उत्पादमा सफल भएको दावी गर्दै रदिले भने – “मैले उत्पादन गरेर खाना पनि पकाए । यसले बजारमा पाईने खाना पकाउने ग्यासको जस्तै काम गर्न सक्दछ ।”
उनले बनाएको ग्यास अहिलेको परिप्रेक्षमा निकै महत्वपुर्ण मानिएको छ । भारतले गरेको अघोषित नाकाबन्दी पछि नेपालीहरुमा आत्मनिर्भर र स्वाभिमानी बन्नुपर्छ भन्ने भावनाको विकास भएको छ ।
युवा बैज्ञानिक रदि मियाले उत्पादन गरेको ग्यासको अनुसन्धान गरी आवश्यक प्रविधिको बिकास र सरकारी सहयोग भयो भने नेपालमा नै ग्यास उत्पादन गर्न सकिने विकल्प देखिएको छ ।
रदिले यस अघि बनाएको अल्ट्रालाईटले सफल उडान भर्न सकेको थिएन । उनका अनुसार गाउँमा नै उडान भर्ने क्रममा ग्राउण्ड सानो भएकाले अल्ट्रालाइटलाई रन वे सानो भएका कारण उडान सफल नभएको हो । “पहिलाको अल्ट्रालाईटलाई लामो रन वे चाहिन्थ्यो, तर अहिले छोटो दुरीमा नै टेक अप लिन सक्ने अल्ट्रा लाईनट बनाउदै छु,” उनको भनाई छ ।
