चर्काे भाडा अशुल गर्ने सवारी कारबाहीमा ! उजुरी गर्नुस्, कारवाही गर्छौंः अर्याल, राष्ट्रिय संकटमा कमाउने मानसिकता त्याग्नुस्ः केसी

Share:

रञ्जन अधिकारी पोखरा, ३ मंसीर / भारतीय अघोषित नाकाबन्दीले जनजीवन नराम्ररी प्रभावित बनेको छ । व्यापारीहरुले दैनिक उपभोग्य सामानको मूल्य दोब्बरले बढाएका छन् । खानेकुरामा मात्रै मुल्य वृद्धि भएको छैन । प्रत्यक्ष रुपमा परेको ईन्धनजन्य पद्धार्थको अभावले आऊजाऊ गर्न समेत सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ । मुलुकभर यातायात मजदुरहरुले आफुखुशी भाडा तोक्दा यात्रुहरु ठगिएका छन् । चाडपर्वको समयमा यस विषयमा गम्भीर नभएको ट्राफिक प्रहरी अब यात्रुहरु नराम्ररी ठगिन थालेपछि कारबाही गर्न सक्रिय भएका छन् । यातायात व्यवसायी, संघसंगठनको समेत ठगी विरुद्धको यो अभियानमा साथ मिलेको छ ।

कास्कीमा बुधबार केहि बस, माइक्रो तथा ट्याक्सीमा चेकजाँच गर्दा बढि भाडा असुल गरेको पाईएपछि तोकिएको भाडादर भन्दा बढि लिएको रकम यात्रुलाई नै फिर्ता गराईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका अनुसार बुधबार ३३ हजार रुपैंया यात्रुहरुलाई फिर्ता गराईयो । लेखनाथको गगनगौंडामा चेकजाँच गर्दा पोखरा काठमाण्डौं चल्ने बा२ख २८६८ नं. को बसले तोकिएको भन्दा बढि भाडा लिएको पाईएपछि १२ हजार रुपैंया सम्बन्धित यात्रुहरुलाई फिर्ता गराएको कार्यालय प्रमुख प्रहरी निरिक्षक श्यामु अर्यालले जानकारी दिए । यस्तै, ग१ख २९५१ नं.को बसबाट ११ हजार, ना४ख ७३१० नं. को बसमा सवार यात्रुहरुहरुको चार हजार, ग१ख २९६१ नम्बरको बसबाट तीन हजार, ना४ख ९९२८ नं. बसबाट दुई हजार तथा ग१ज ३९२० नं. को ट्याक्सीबाट एक हजार रुपैंया यात्रुहरुलाई फिर्ता गराएको कार्यालयले जनाएको छ ।

यसअघि, मंसीर २१ देखि २३ गतेसम्म अनुगमन संयन्त्र सहितको अनुगमनका क्रममा दुई ट्याक्सी र पाँच माईक्रो कारबाहीमा परेको उनले जनाए । यी सवारीमात्रै होईन, नाकाबन्दी पछि नै दुई महिनादेखि हरेक सवारीले मनपरी भाडा असुलेका छन्, कारबाही किन नगरेको भन्ने प्रश्नमा प्रमुख अर्याल भन्छन्– ‘दशैं तिहार जस्ता ठुला चाडहरुमा जति भाडा लिएपनि यात्रुहरुलाई गन्तव्यमा पुग्नुपर्ने थियो, यात्रुहरुले सहज रुपमा लिए । गुनासो आएन ।’ प्रमुख अर्यालले बढि भाडा लिएको पाईएपछि माईक्रोलाई कारबाही गर्न खोज्दा समेत यात्रुहरुले नदिएको बताए । ‘मनपरी भाडा लिएकोबारे एक यात्रुको गुनासो आयो, कार्यालयमा माईक्रो ल्याएर कारबाही प्रक्रिया अघि बढाउन खोज्दा यात्रुहरुले नै हामी तिर्छौं अरु गाडी छैन जान दिनुस् समेत भने ।’ अर्यालले भने– ‘यस्तो अवस्था समेत आयो । त्यसैले चाडबाडको समयमा व्यवहारिक कठिनाई समेतलाई मनन गरिएकै हो । अब अति हुन थाल्यो ।’

नाकाबन्दीको समयमा ईन्धन आएको छैन तर सवारी कम चलेपनि ठप्प भएको छैन । कालाबजारी गरिएको तेलले नै सवारी चलिरहेका छन् । सवारी धनीहरुले बढि मुल्यमा तेल किनेर केहि भाडा बढाएमा यात्रुले समेत गुनासो नगर्ने तर दोब्बर बढि भाडा लिन थालेपछि गुनासो आउन थालेको अर्याल बताउँछन् । पाँच सयको ठाउँमा सात सय लिएपनि यात्रुहरुको गुनासो रहने थिएन, एक हजार नै असुल्न थालेपछि आफुहरु गम्भीर भएको उनले बताए । स्थानीय माईक्रोले समेत चढ्नासाथ दोब्बर बढि भाडा २५ रुपैंया माग्ने गरेको सुनिएको बताउँदै प्रहरीलाई गुनासो आएमा ठाउँको ठाउँ फिर्ता गरिने बताए । ‘पहिलो पटक यात्रुहरुलाई बढि भाडा फिर्ता गराएका छौं । दोस्रो पटकमा सवारीलाई कारबाही नै गर्नेछौं ।’ उनले भने– ‘आजदेखि नै पोखराका विभिन्न क्षेत्र तथा मुख्य राजमार्ग नाकाहरुमा चेकजाँच सुरु गरेका छौं ।’ उनले यात्रुहरुले समेत ठगिएको महसुस भएमा उजुरी गर्न आग्रह गरेका छन् ।

तर, यातायात व्यवसायी तथा चालकहरु भने पुरानै भाडादरमा सवारी चलाउन नसक्ने बताउँछन् । चोरीपैठारीको ईन्धन उपयोग गर्दा लागत बढेकाले पहिलेको भाडादरमा सवारी चल्नै नसक्ने बाध्यात्मक अवस्था बुझिदिन उनीहरुले आग्रह गरे । पश्चिमाञ्चलमा ३० प्रतिशतसम्म भाडा वृद्धि गर्ने तयारी भईरहँदा १०० प्रतिशत बढि भाडा असुलेकोमा यातायात व्यवसायी राष्ट्रिय महासंघका गण्डकी अञ्चल सहसंयोजक योगेन्द्रबहादुर केसीलाई चित्त बुझेको छैन ।

‘पाँच सय तोकिएको भाडा छ सय, सात सय लिँदा र तिर्नुपर्दा आपत्ति मान्नुपर्दैन ।’ केसीले भने– ‘तर राष्ट्रिय संकटको यो घडीमा ठग्ने मानसिकता लिनुहुँदैन । व्यवसायिक हितमा म लाग्छु तर जसरी हाम्रा साथीहरुले दोब्बर भाडा लिएका छन् यसमा हाम्रो आपत्ति छ ।’ तपाईंहरुले व्यवसायी, चालक, मजदुरहरुलाई यस्तो गर्नबाट किन रोक लगाउन नसक्नुभएको भन्ने प्रश्नमा उनले प्रयत्न गर्दा गर्दै पनि नसकेको उल्लेख गरे । ‘काउण्टरमा नआउने, यात्रुलाई टिकट काट्न नदिने अनि बीच बाटोमा एक हजार, १५ सय माग्ने अवस्था आयो ।’ पृथ्वीराजमार्ग बस सञ्चालक समितिका महासचिव समेत रहेका केसीले भने– ‘यात्रुप्रति हाम्रो जिम्मेवारी, उत्तरदायित्व छ । मुलुकको यस्तो अवस्थामा ठगीधन्दा कार्यमा समितिको कहिल्यै साथ रहन्न ।’ उनले मंगलबार आपुर्ति व्यवस्थापन बैठकमा सिडिओकै अगाडि कारबाही प्रक्रिया अघि बढाउन आफुहरुले नै आग्रह गरेको समेत खुलासा गरे ।

यातायात व्यवसायका नेतृत्व तहमा रहनेहरु नै यात्रुहरु ठगिएकोमा चिन्ता व्यक्त गर्छन् । तर, चिन्ता गरेर मात्र सर्वसाधारण ठगिनबाट रोकिन्नन् । यो अवस्था रहुन्जेल पुराना भाडादरमा संचालन गर्न नसकेमा प्रशासन, उपभोक्तामञ्च सहितको सहमतिमा भाडादर सम्बन्धी मापदण्ड तयार गरी सर्वसाधारण ठगिने यो अवस्थाबाट यथासक्य चाँडो पार लगाउन गम्भीर बन्नुपर्ने देखिएको छ । सीमित जनशक्ति रहेको ट्राफिक प्रहरीको क्रियाशीलताले मात्र यो ठगीधन्दा रोकिदैँन । ‘प्रहरी र प्रशासनले कारबाही गरेर देखाओस्, राष्ट्रिय संकटको यो घडीमा चार गुणा बढिसम्म लिएर तेल बेच्ने दलालीहरु चिनाउन तयार छौं ।’ नयाँबजारका एक व्यवसायीले भने– ‘तर प्रशासनले केहि गर्दैन, गेट छिर्न वित्तिकै कालो ड्रम देखिन्छ । २० लाख सम्म आम्दानी गरिसके ।’ घर नै असुरक्षित हुने गरी टंकीमा थुपारेर मिसावट गरी तेल बेच्ने कालाबजारीयाहरुलाई पनि प्रशासन र प्रहरीले कारबाही गर्न सक्नुपर्दछ । यात्राका क्रममा यात्रुहरु समेत सचेत बन्न जरुरी छ ।

कमेन्ट गर्नुहोस्
Share: