
माधव पनेरु/रञ्जन पोखरा, ५ मंसीर / भारतीय नाकाबन्दीले पेट्रोलियम पद्धार्थ तथा ग्याँसको चरम अभाव भईरहेका बेला कालाबजारी पनि उत्तिकै भईरहेको छ । मुलुक संकटमा परेको बेला केहि व्यक्तिहरु लाखौं कमाउने ध्याउन्नमा मिसावट नै गरेर तेब्बर मुल्यमा तेल कारोबारमा संलग्न छन् भने प्रहरी, जिम्मेवार कर्मचारी समेत कालाबजारीमा संलग्न भएको न्युजहरु सार्वजनिक भईरहेका छन् ।
पहुँच नभएका सर्वसाधारण जनताले नाकाबन्दीको सास्ती खेपिरहँदा प्रशासन समेत कालाबजारी नियन्त्रणमा लागेको छैन । पेट्रोल पम्पहरुमा आफुखुशी ईन्धन बाँडिरहेको खबर आईरहेका छन् । उपभोक्तालाई बाँड्नुपर्ने ग्याँस समेत डिपोबाटै हराएको पाईएको छ । शक्ति कम्पनीका साढे चार सय सिलिण्डर ग्याँस एकाएक गायब छन् । उपभोक्तालाई सार्वजनिक सुचना जारी गरेर ग्यास बितरण गरिने आपुर्ति समितिको निर्णय विपरीत ग्यास सिलिण्डर गायव भएपछि उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले बिग न्युजलाई जानकारी दिए ।
‘आपुर्ति समितिमा छलफल गरेर सार्वजनिक सुचना जारी गरी ग्याँस बितरण गर्ने भनिएपनि जानकारी नै नदिई चार सय ५० सिलिण्डर ग्याँस गायब छ ।’ कोईरालाले भने– ‘यस्ता अभावको उत्कर्षमा रहेको बेला उपभोक्ता ग्यासको लागि तड्पिरहेका छन् । जनता झुक्याउने खेल भएको छ ।’ पोखरामा बितरणको तयारी गरिएका सिलिण्डर गायव भएपछि ग्याँस बितरण हुने–नहुने अन्योल भएको उनले बताए । आफुहरुले हराएका सिलिण्डरहरुकोे बिबरण खोजी बाहिर ल्याएरै छाड्ने कोईरालाले बताए ।
तर, केहि घण्टा पछि नै कोईरालाले आफ्नो बोली फेरेका छन् । उनले गायव पारेको नभई निर्णय अनुसार नै स्थानीयका लागि छुट्टाईएको भन्दै कुरा फेरेका हुन् । आईतबार गृहलक्ष्मी र शक्ति ग्याँसका सिलिण्डर साटिने उनले जानकारी दिए । तर यस विषयमा प्रशासनले सुचना जारी गरेको छैन । गत कार्तिक १८ मा पनि जानकारी नै नगराई गृहलक्ष्मी कम्पनीका आधा परिमाणका ग्याँस साटिएकोमा सर्वसाधारणले गुनासो गरेका थिए । दुई कम्पनीका ग्याँस कहाँ बाडिन्छ ? भन्ने प्रश्नमा मञ्चका अध्यक्ष कोईरालाले भने स्थानबारे भन्न नमिल्ने बताए । प्रशासनले समेत सर्वसाधारणलाई सुचना नगरिरहेको बेला उपभोक्ताकै नेताले स्थान भन्न नमिल्ने बताउनु आफैंमा रहस्यमय छ । उपभोक्ता मञ्च उपभोक्ताको हक हितमा लाग्नुपर्ने हो तर सर्वसधारण कृत्रिम अभाव, कालाबजारीको मारमा पर्दा समेत उपभोक्ता मञ्च सक्रिय बनेको देखिदैंन ।
सिलिण्डर कुन प्रयोजनका लागि गायब भएको वा छुट्टाईएको भन्ने विषयमा शक्ति ग्यास कम्पनीका महाप्रबन्धक मेघराज पौडेलसंग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।
