उपभोक्ता मञ्च बन्यो गम्भीर, ग्याँस वितरण प्रक्रियाप्रति आपत्ति

Share:

बिग न्युज पोखरा, ६ मङ्सिर। उपभोक्ता मञ्च कास्की उपभोक्ताको हितमा गम्भीर बनेको देखिएको छ । कालाबजारीया सक्रिय बन्नु र प्रशासन समेत भित्रभित्रै संरक्षण गरेको देखिएपछि उपभोक्ता मञ्च समेत मुकदर्शक भएर बस्न नहुने भन्दै बिग एफएममा शनिबार न्युज प्रसारण भएको थियो ।

मञ्चले जिल्ला आपूर्ति व्यवस्थापन समितिको निर्णयबमोजिम आइतबार वितरण गरिएको एलपी ग्याँसको वितरण प्रक्रियामा असहमति जनाएको छ। मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाको अध्यक्षतामा आइतबार साँझ बसेको मञ्चको आकस्मिक बैठकले आफूहरूको संलग्नता विना बैठक गरी वितरण गर्ने निर्णय भएको र वितरण गर्ने सूचना सार्वजनिक हुनुअगावै सूचना चुहावट भएको दावी गरेको छ। मञ्चद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ–‘ ग्यास बिक्रेताका सेटिङका मान्छे मात्र यसबाट लाभान्वित भए। यसमा हाम्रो आपत्ति छ।’

मञ्चले सूचना चुहावट गर्नेलाई कडा कारवाहीको माग गर्दै भनेको छ–‘अन्यथा, यो प्रशासन र ग्यास बिक्रेताको मिलेमतोमा गरिएको प्रमाणित हुनेछ।’ आपूर्ति समिति मञ्चको प्रतिनिधित्व रहने व्यवस्था छ। आइतबार ग्यास वितरण गरिने सूचना प्रशासनले शनिबार राति १० बजे जारी गरे पनि शनिबार साँझबाट नै ग्याँसका डिपोहरूमा सर्वसाधारणको भिड लागिसकेको थियो। प्रशासनले ग्यास वितरण गर्ने दिनको बिहान ५ः४५ बजे सबै एफएममा एकसाथ सूचना दिने जनाएको थियो।

मञ्चले आइतबार बाडिएको गृहलक्ष्मी र शक्ति ग्यास कम्पनीका ग्यास वितरण प्रक्रियामा मञ्चको संलग्नता र सहभागिता नरहेको जनाएको छ। प्रशासनले मङ्सिर ७ गतेअघि ग्याँस बिक्री नहुने विज्ञप्ति जारी गरेकोमा सो विपरित मङ्सिर ६ गते आइतबार नै वितरण गर्दा आम उपभोक्ता भ्रममा पर्न गएको दावी गरेको छ।
शनिबार बेलुका चार सय ५० थान शक्ति र आइतबार चार सय शक्ति र तीन सय गृहलक्ष्मी ग्यास आक्रोशित भिडले माग गरेबमोजिम वितरण गरेकोमा पनि मञ्चले असहमति छ। यस्तो वितरणले आगामी दिनमा वितण्डाकारीलाई प्रोत्साहन गर्ने छ।

यस पटक वितरण गरिएको आधा सिलिण्डर भनिएको ७.१ केजी तौल कुनै निकायबाट पनि प्रमाणित गरिएको छैन। आगामी दिनमा तौल प्रमाणित गरेरमात्र वितरण गर्ने व्यवस्था गर्न मञ्चले माग गरेको छ। यस्तै, संस्थाले यातायात व्यवसायीले हालै एक पक्षीयरुपमा भाडाबृद्धि गरेको भन्दै आपत्ति प्रकट गरेको छ। मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाद्वारा जारी विज्ञप्तिमा कानुन हातमा लिइ भाडाबृद्धि गर्नेलाई कडाभन्दा कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माग पनि गरिएको छ।

यसअघि भारतको अघोषित नाकाबन्दीपछि कात्तिक १८ गते पोखरामा खाना पकाउने ग्यास वितरण गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: