
रञ्जन अधिकारी पोखरा, १० मंसिर / गत वैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि पीडितलाई राहत प्रदान गर्ने हेतुले भोलिपल्ट पोखराका पर्यटन व्यवसायीले गठन गरेको भूकम्प पिडित राहत संकलन पर्यटन समिति विहीबार विघटन भएको छ । २९ लाख २० हजार २ सय नगद सहित जिन्सि सामाग्री गरी एक करोड मुल्य बराबरको राहत सामाग्री भुकम्प पीडितहरुलाई वितरण गरिएसंगै विहिबार सो समिति विघटन गरिएको हो ।
पोखराका विभिन्न क्षेत्रका व्यक्ति तथा संघसंस्थाबाट संकलन गरिएको २९ लाख २० हजार २ सय रुपैंया मध्ये खाद्य सामाग्रीतर्फ १३ लाख २ सय, यातायाततर्फ १५ लाख, त्रिपाल तथा कम्बलतर्फ १२ लाख ३५ हजार, औषधितर्फ ७० हजार, लत्ता कपडा तर्फ १ लाख ५० हजार र स्टेसनरीतर्फ १५ हजार खर्च भएको कोषाध्यक्ष लक्ष्मण बरालले बताए ।
समापन अवसरमा सहयोगदाताहरुलाई प्रशंसा पत्र वितरण समेत गरियो । समितिसंग ३ लाख मुल्य बराबरको त्रिपाल र कम्बल रहेकोले उक्त राहत सामाग्री पोखरा पर्यटन पुनर्जागरण समितिलाई प्रदान गरेकोे छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले राज्यलाई सहयोग पुग्ने गरी विपद्को समयमा पर्यटन व्यवसायीहरुले पु¥याएको योगदानको प्रशंसा गरे । भुकम्पभन्दा पनि नाकाबन्दीरुपी ठुलो भुकम्पको सामना गर्नुपरेकाले यस बेलामा पनि आवश्यक सहयोग गर्न उनले आग्रह गरे ।
राउतले मुलुक संकटमा रहेकाले जनजीवन धान्नका लागि केहि खुकुलो गरिएकोतर्फ संकेत गर्दै मुलुकको अर्थतन्त्र नै बिग्रने अवस्था आउनेतर्फ पनि सचेत रहेको जनाए । देशमा हाल बिग्रदै गएको अर्थ व्यवस्थालाई सन्तुलन राख्न सबैले सहयोग गर्नु पर्ने उनले बताए ।
समितिका संयोजक गणेश बहादुर भट्टराईले देशको यस्तो विषम् परिस्थितिमा केहि व्यक्ति तथा व्यवसायीहरु नै कमाउने बेला यही हो भन्ने मानसिकताले ग्रस्त बन्नु साह्रै दुःखद रहेको बताए । ‘छिमेकी भोकै परे अर्को छिमेकीले सहयोग गर्ने बेला हो । देशमा संकट आएको छ । सडकमा गाडी कुदेको देखेर मात्र हुँदैन ।’ भट्टराईले भने– ‘मुलुकको अर्थतन्त्र डामाडोल छ । सचेत नागरिक नै कमाउधन्दामा लागे केहि समयका लागि राम्रो भएपनि भविष्य राम्रो हुँदैन ।’
पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले केन्द्र सरकारले क्षेत्रलाई कहिल्य प्राथमिकतामा नराखेको गुनासो गरे । पर्यटन व्यवसायी टिकाराम सापकोटाले यहि अबस्थामा दुूई साता अघि बढे पर्यटन क्षेत्र बन्द गर्नु पर्ने अबस्था आउने बताए । अभावै अभावले पर्यटन क्षेत्र गुज्रेको बताउदै उनले अभावको बेला कालोबजारी मौलाएको र त्यसलाई रोक्न स्थानीय प्रशासनले नसकेको बताए ।
पर्यटन व्यावसायी अग्नी कडेंल, चौ बहादुर गुरुङ, लक्ष्मण बराल, संजयकान्त सिग्देल, जयराम तिमिल्सिना, दोर्जे लामालगायतले भूकम्प पछि नेपाल भ्रमणमा आएका पर्यटकहरुलाई सेवा सुविधा दिन नसेकेको कारणले यसले विश्व बजारमा दीर्घकालीन असर पर्ने भएको भन्दै चिन्ता व्यक्त गरे ।
