
पोखरा, मंसिर १५ । पोखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृत हेरफेर भएको छ । नयाँ कार्यकारी अधिकृतका रुपमा पुनः झलराम अधिकारी आउने भएका छन् । १६ महिना पहिले धनुषाको स्थानिय विकास अधिकारीको रुपमा सरुवा भएर गएका अधिकारी स्थानीय विकास मन्त्रालय हुँदै पुनः पोखरा फर्किएका हुन् । स्थानिय बिकास मन्त्रालय राप्रपा नेपालले सम्हालेपछि दोश्रो कार्यकालका लागी अधिकारीलाई पोखरा पठाउने निर्णय भएको हो । आईतबार बसेको मन्त्रीस्तरीय बैठकबाट अधिकारीलाई पोखरा पठाउने निर्णय भएको श्रोतले जनाएको छ । पोखराका कार्यकारी अधिकृत उदय बहादुर राना भने मन्त्रालयमा नै फिर्ता भएका छन् ।
पोखरामा सरुवा भएपछि अधिकारीले २ बर्षअघिका सबै योजनाहरुलाई निरन्तरता दिने बताएका छन् । मैले २ बर्षअघि सुरु गरेका धेरै योजनाहरु थाँति नै छन्, उनले भने–प्लाष्टिक निषेधित, छाडा चौपाया नियन्त्रण, फुटपाथ नियन्त्रण, सार्वजनिक सम्पत्ति संरक्षण लगाएतका कामलाई निरन्तरता दिन्छु । उनले पोखरामा आउनेवित्तिकै नगरको बर्तमान अवस्थाको श्वेतपत्र जारी गर्ने प्रतिबद्धता समेत जनाए । पोखरामा धेरै काम गर्न बाँकी छ र सम्भावना भएको शहर पनि हो, अधिकारी भन्छन्–सबैभन्दा पहिले सरोकारवालालाई बोलाएर नगरसभा गर्छु र उनीहरुको सुझावलाई समेट्दै नयाँ कार्ययोजना समेत सार्वजनिक गर्नेछु । बिशेषगरी हाम्रो शहर उज्यालो नगर भन्ने नारालाई आत्मसाथ गर्दै सौर्य सडक बत्ति जडानमा मुख्य प्राथमिकता दिने उनको भनाई छ ।
पोखराबाट सरुवा भएका कार्यकारी अधिकृत उदयबहादुर राना मगरले भने समयको सीमितताले काम गर्न नसकेको गुनासो गरे । उनी ८ महिना मात्रै पोखरामा बस्ने मौका पाए । पूरै समय काजमा बस्नुप¥यो, उनले भने–दरबन्दी नहुँदा कर्मचारीले पनि सहयोग गरेनन्, धेरै कामको सुरुवात भएको छ, पूरा गर्न पाएको भए सन्तुष्टी हुन्थ्यो । धेरै योजनाहरु पाईपलाईनमा रहेको उनले आविष्कारलाई बताए । आफ्नो कार्यकालमा एकीकृत सम्पत्ति कर लागू गरेको, अन्तराष्ट्रिय शहरहरुसँग सम्बन्ध विस्तार गरेको उनले बताए । उनको कार्यकालमा चीनको युसु र सीनी सँग भगिनी सम्बन्ध विस्तार भएको छ । यस्तै सफ्टवेयर जडान गरी वडा स्तरबाट कर संकलन गर्ने, सोलार लाईट विस्तार लगाएतका काम पाईपलाईनमा रहेको छ । उनले पोखरालाई स्मार्ट सिटी बनाउने उद्घोषका साथ विगो नामक संस्थासँग प्रविधिसम्बन्धि सम्झौता समेत गरे । भगिनी सम्बन्ध कायम गरिएको गोन्जाओबाट १ करोड ६० लाख सहयोग प्राप्त भएको भन्दै उनले त्यसको विनियोजन गर्न बाँकी रहेको बताए ।
तत्कालिन कार्यकारी अधिकृत झलकराम अधिकारी सरुवा भएपछि एकबर्षको अवधीमा पोखरामा २ जना कार्यकारी आईसकेका छन् । उनको सरुवासँगै गोरखाका तत्कालीन स्थानीय विकास अधिकारी महेश बराल आए । त्यसपछि ५ महिना नबित्दै उनको पनि सरुवा भएर उनको ठाउँमा उदय बहादुर राना मगर आएका हुन् । मगरको काज सरुवाको अवधि सकिएलगत्तै झलकराम पोखरा आएका छन् । उनी पोखरा आउने भएपछि केही समय सुस्ताएको यहाँको विकास निर्माण पुनः सुचारु हुने अनुमान गरिएको छ । २०६९ कार्तिकदेखि २०७१ असोजसम्म पोखराको कार्यकारी अधिकृतको रुपमा काम गरेका उनी एकबर्षअघि सरुवा भएका थिए । पोखरा बसाईका बेला उनले केही महत्वपूर्ण काम गरेर सफल कार्यकारीको छवी बनाएका थिए ।
उनको कार्यकालको महत्वपूर्ण काम फुटपाथ नियन्त्रण नै हो । यस्तै सौर्य सडक बत्ती जडान, सार्वजनिक निजी साझेदारीको सुरुवात गर्दै पोखरा सभागृहको ब्यवस्थापनको पहल, कर्मचारी पेश्की फस्र्यौट, राजश्व असुली, भवन निर्माण संहिता लागू जस्ता काम भए । दुईबर्षे कार्यकालमा उनले एसियाली बिकास बैंकको कालो सूचीमा रहेको उपमहानगरपालिकालाई कालोसूची मुक्त गराए भने न्यूनतम शर्त मापन तथा कार्यसम्पादन मुल्याकंनमा पोखरालाई देशकै तेश्रो बनाए । फेवातालको जलकुम्भी हटाउन एनसेलसँगको सहकार्य सुरु गरेपनि त्यसलाई पूर्णता दिन सकेका थिएनन् । उक्त सम्झौता अहिलेसम्म हुन सकेको छैन । सिर्जनाचोकमा सपिङ्ग कम्प्लेक्स निर्माणको पहल पनि उनकै कार्यकालमा भएको हो । होर्डिङ्गबोर्ड ब्यवस्थापन र १० बर्षे रोड म्याप निर्माणको सुरुवात समेत अधिकारीको पालामा नै भएको हो । भगिनी सम्बन्ध बिस्तारमा पनि उनको जोड अधिक रहेको थियो ।
अधिकारी पछि पोखरा आएका कार्यकारी अधिकृतहरुले भने खासै उपलब्धी मुलक काम गर्न सकेनन् । कर्मचारीको खिचातानीका कारण उनीहरु पटक पटक विवादमा समेत आए । कुनै काम गर्न लागेपनि कर्मचारीहरुकै असहयोगका कारण उनीहरु असफल रहे । कर्मचारी ब्यवस्थापन गर्न नसक्नु, छिटो निर्णय गर्न नसक्नु, जनताको गुनासोको सुनुवाई नहुनु जस्ता कमजोरी पछिल्ला कार्यकारीहरुमा देखियो । कास्की ढिकुरपोखरी गाविस स्थायी घर भएका अधिकारी हाल पोखरा उपमहानगरपालिका ६ मा बस्दै आएका छन् । उनले १६ बर्ष अघि लम्जुङको ढोडेनी गाबिसमा गाविस सचिवबाट सरकारी काम सुरु गरेका थिए ।
Source: Lanepal.com
