
रञ्जन अधिकारी पोखरा १७ मंसिर। पोखरा उपमहानगरपालिकामा हालै सरुवा भएर आएका कार्यकारी अधिकृत झलकराम अधिकारीलाई नागरिक समाजले विहीबार स्वागत तथा सम्मान गरेको छ । नागरिक समाज पोखरा, नगर महिला समन्वय समिति पोखरा तथा नागरिक निगरानी समूह पोखराले संयुक्त रुपमा एक कार्यक्रम आयोजना गरी कार्यकारी अधिकृत अधिकारीलाई स्वागत गरेका हुन् ।
नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले कार्यकारी अधिकृत अधिकारीलाई नागरिक प्रतिबद्धता पत्र वाचन गर्न लगाएका थिए । ‘राष्ट्रिय हितलाई सर्वोपरी मानदै पिछडिएका महिला, असहाय, बालबालिका, ज्येष्ठ नागरिक, अपांग एवम् उत्पीडित वर्ग लगायत स्थानीय कला, संस्कृति र साहितयको उत्थान गर्दै, प्राकृतिक सम्पदाहरुको संरक्षणसँगै सुन्दर पोखराको विकास निर्माणमा सामाजिक न्यायको सिद्धान्तलाई मार्गदर्शन मान्दै पोखरेली समुदायको सर्वाङ्गीण हितमा समर्पण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ लेखिएको नागरिक प्रतिबद्धतापत्रमा अधिकारीले हस्ताक्षर गरे ।
कार्यक्रममा बोल्दै अधिकारीले सबैभन्दा पहिलो काम पुस १ गतेभन्दा पहिले नगरपालिकाको श्वेतपत्र गर्ने र नगरबासीलाई सेवा पुग्ने र कानुनी समस्या नहुने गरी कार्ययोजना ल्याउने बताए । उनले आफुले थालनी गरेका राम्रा कामहरुलाई निरन्तरता दिँदै नगरबासीको सुझाव र सल्लाह अनुसार अघि बढ्ने उल्लेख गरे । नयाँ वडाहरुमा कर्मचारी ब्यवस्थापन, छाडा चौपाय नियन्त्रणका लागि पनि तत्काल काम थाल्ने उनको भनाई छ । नगरक्षेत्रमा छाडा चौपाया नियन्त्रणमा लागिपर्ने बताए । अधिकारीले बुधबारदेखि नै कार्यभार सम्हालिसकेका छन् ।
नगर महिला समन्वय समितिकी अध्यक्ष पवित्रा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गर्दै नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले मापदण्ड विपरितका संरचना हटाउन अग्रसरता लिन आग्रह गरे । उनले वातावरणमैत्री सफा शहर बनाउनका साथै यहाँका सांस्कृतिक सम्पदाहरुको संरक्षणमा लाग्न पनि आग्रह गरे । यस्तै, वडा नागरिक मञ्चकी अधयक्ष प्रभा पन्तले नगर महिला समन्वय समिति क्रियाशील रहेको अवस्थामा महिला सशत्तिकरण र अधिकारको पाटोमा ध्यान दिन आग्रह गरिन् । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाटले कला, साहित्य र संस्कृतिको धनी प्रकृतिको बरदान मिलेको पोखराको वृहत्तर हितमा लाग्नुपर्नेमा जोड दिँदै पोखराबासी नै कार्यकारी बनेकाले आफु आशावादी रहेको बताए ।
