
काठमाडौं, मंसिर १८ –
मुख्य तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच आज वार्ता हुँदैछ । मोर्चासँग वार्ता हुनुअघि मुख्य तीन दलको छुट्टै बैठक बस्नेछ । तीन दलको बैठक दिउँसो ४ बजे र मोर्चा सहित मुख्य दलहरुको बैठक बेलुकी ५ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
आजको वार्तालाई निर्णायक बनाउने सरकारले निर्णय गरेको छ । मधेसी मोर्चासँगको सहमतिमा संविधान संशोधन विधेयक अघि बढाउने र सीमांकन विवाद राजनीतिक वा संसदीय समितिबाट टुंग्याउनेबारे मुख्य तीन दलले साझा धारणा बनाएपछि मोर्चासँग वार्ता हुन लागेको हो । अघिल्लो सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई तत्काल पारित गर्ने र सीमा परिवर्तनका मुद्दालाई संसदीय या राजीतिक समितिमार्फत टुंग्याउने गरी तीन दलले साझा धारणा बनाएका हुन् ।
कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुले तय गरेको यो धारणाबारे आज मोर्चासँग छलफल हुनेछ । यो धारणामा मोर्चाले पनि सहमति जनाएमा साढे तीन महिनादेखि उत्पन्न समस्या समाधान हुने नेताहरुको विश्वास छ । तीन दलका नेताहरुका अनुसार संसदबाट संविधान संशाधन विधेयक पारित भएपछि भारतले नाकाबन्दी अन्त्य गर्ने संकेत दिएको छ ।
