यस्तो छ विश्वकै शक्तिशाली भ्लादिमिर पुटिनको स्वभाव

Share:

३० वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा श्रीमती लाउडमिलाले भनेकी थिइन्, पुटिन काममा आशक्त हुने मानिस हुन् । उनलाई आफ्नो कामको मात्रै ध्यान हुन्छ । तर परिवारलाई समय दिदैँनन् । लाउडमिलाले भनेजस्तै जुडोका ब्ल्याकबेल्ट रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको कार्यशैलीमा मार्सल आर्टस्का गुण प्रस्टै देखिन्छन् । उनी आफ्नो योजना र लक्ष्यमा सधैँ केन्द्रित रहन्छन् र उनी निकै आक्रमक पनि छन् ।
पुटिनले सन् २०१४ मा सैनिक हस्तक्षेप निम्त्याएर युक्रेनको क्रिमियालाई रुसमा गाभे । यस वर्ष उनी सिरियामा सरकार विरोधी आन्दोलनकारी तथा आईएसआईएसमाथि बमको निशाना लगाउँदैछन् । ६३ वर्षिय पुटिनले सोभियतकालिन रुसको प्रभूत्व र शक्तीलाई पुर्नस्थापित गर्न खोजेको यर्थाथ कसैसामू लुकेको छैन् । शितयुद्धपछि लामो समय रुस विश्वको अर्को शक्ति राष्ट्र अमेरिका र अमेरिका समेत आबद्ध अधिकांश पश्चिमाहरुको संगठन नाटोसामू निरिह रह्यो । पुटिनले सन् २००५ मा सार्वजनिक रुपमै सोभियत संघको पतन २० औँ शताब्दीको सबैभन्दा ठूलो राजनैतीक तथा भौगोलिक दुर्घटना रहेको बताएका थिए । उनी नेटोका सदस्य राष्टहरुले शीतयुद्धपछि रुसी सिमानामा आँखा लगाएको भन्दै रुष्ट देखिन्छन् । रुसी आदिवासीहरुको रक्षार्थ उनी आफूलाई प्रस्तुत गर्न चाहन्छन् ।

सन् १९५२ मा पुटिनको जन्म हुदाँ उनको परिवारको स्थिती राम्रो थिएन । उनका बाबु आमा अहिलेको सेन्ट पिटर्सवर्ग तथा तत्कालिन लेलिनगार्डमा एक सार्वजनिक घरमा अन्य थुप्रै परिवारसँगै बसेका थिए । पुटिनका बाबु कारखानामा मजदुरी गर्दथे भने आमा घरकै काममा व्यस्त हुन्थिन् । तत्कालिन सोभियत संघमा धर्ममाथि प्रतिबन्ध लगाइएको भएपनि पुटिनकी आमाले लुकीलुकी छोरालाई अर्थोडक्स चर्च लग्थिन् । पुटिन सानैदेखी झगडा गर्न खप्पिस थिए र उनी टोलका आफूभन्दा ठूला व्यक्तिसँग समेत झगडा गरिरहन्थे ।

ठूला व्यक्तीसँग झगडा गर्दा पिटाई खान थालेपछि पुुटिन जुडोतर्फ आर्कषित भए । स्कुल पढ्दादेखी नै आफूभन्दा ठूला र परिपक्व मान्छेको मात्रै संगत गर्ने पुटिनको बान थियो । पढाईमा अब्बल भएका कारण उनले सोभियत संघकै उत्कृष्ट विद्यालयमा भर्ना पाएका थिए । सन् १९७४ मा पुटिन लेलिनगार्ड राज्य विश्वविद्यालयको जुडो च्याम्पियन बनेका थिए । पहिला पन्च हान्ने बानी आफ्नो विद्यालयमा पढाई नसक्दै पुटिनमा सोभियतको गुप्तचर विभागमा जागिर खाने भूत सवार थियो । सन् २०१५ मा एक सार्वजनिक कार्यक्रममा पुटिनले भनेका थिए, ५० वर्षअघि मलाई लेलिनगार्डको सडकले एउटा नियम सिकायो । यदी झगडा हुने परिस्थिती सिर्जना हुन्छ भने पहिला आफैँ पन्च हान्नुपर्छ । उनको बुझाईमा सिरियाली आतंककारी रुस छिर्ने मिति कुर्नुभन्दा सिरियामा रुसले आक्रमण थाल्नु आवश्यक थियो ।

रुसकै प्रान्त चेचेन्यामा विभाजनको माग राख्ने आन्दोलनकारीमाथि सेनाले आक्रमण गरेपछि सेनाको रक्षार्थ बोल्दै पुटिनले विद्रोहीमाथि छाडा शब्द समेत प्रयोग गरेका थिए । उनले शौचालयमा समेत विद्रोहीहरु रुनुपर्ने अवस्था आउने चेतावनी दिएका थिए । सन् १९९९ देखी २००० सम्म यस क्षेत्रमा विशेषगरी मुस्लिम अर्थ काउकाससले आन्दोलन गरेको थियो । यस विद्रोहमा हजारौँ सर्वसाधारण मारिए । पुटिनका लागि जर्जिया अर्को टाउको दुखाई हो । सन् २००८ मा उनको सेनाले जर्जियामाथि धावा बोल्दै दुई क्षेत्र अबखाजिया र दक्षिण ओसिटिया कब्जामा लिएको थियो ।

त्यो प्रकरणपछि नेटो पक्षिय जर्जियाका राष्ट्रपति मिखाईल साकसभिली र पुटिनबीच व्यक्तिगत रुपमै दुश्मनी सुरु भयो । पुटिन जहिल्यै सोभियत संघका पूर्व सदस्य राष्टहरुलाई पश्चिमा विश्वको प्रभाव मुक्त राख्न चाहन्छन् । सन् २००० मा चेचेन्यामा एक फाइटर जेट चढेर चुनावी प्रचार गर्न पुटिन पुगेका थिए । सन् २०११ मा रसियन बाइकर्स फेस्टिभलमा उनी ब्ल्याक सिमा यात्रा गर्दै थिए । पुटिनले फौजी शैलीमा घोडा चलेको तस्विर पनि अन्तर्राष्टिय सञ्चारमाध्यममा चर्चामा रहन्छ । सन् २०१४ मा क्रिमियालाई रुसमा मिसाएपछि आयोजना गरिएको राष्टवादी बाइक र्यालीमा पुटिन पनि युवाहरुसँगै सहभागी थिए । रुसी मिडियामा पुटिनका सकारात्मक पक्षका समाचार पनि उत्तिकै आउँछन् । उनी दुर्लभ बाघहरुको संरक्षणमा लागेका छन् । आफ्ना कुुकुरहरुसँग अंगालो मार्दै हिउँ खेल्न निस्किएका उनका तस्विरहरु समाजिक सञ्जालमा उत्तिकै रुचाईएका छन् । उनी कुनै समय सोभियत संघको गुप्तचर प्रहरी थिए ।

सन् २०१४ मा सोचिमा विन्टर ओलम्पिक आयोजना गर्ने क्रममा पुटिनले मनग्ये खर्च गर्दै रुसको शक्ती देखाए । उक्त ओलम्पिकका लागि रुसले ५१ बिलियन अमेरिकी डलर खर्चियो , जून अहिलेसम्मकै सर्वाधिक धनराशी खर्च भएको ओलम्पिक हो । जुडोका खेलाडी पुटिन पछिल्लो समय आईसहक्कीमा पनि उत्तिकै रमाउँछन् । रुसी मिडियाका अनुसार लामो समय रुसमा सत्ता सञ्चालन गर्दा पनि पुटिनको लोकप्रियता अझै ८० प्रतिशतभन्दा माथि छ । यस्तो लोकप्रियताको पश्चिमा नेताहरुले कल्पना मात्रै गर्न सक्छन् । रुसी मिडियाले पुटिनको देशगाथालाई सधैँ प्रचारको विषय बनाउने गरेका छन् । सन् २०१२ मा उनी फेरि राष्ट्रपतिका लागि चुनिए । अब उनले सन् २०१८ सम्म आफ्नो कार्यकाल चलाउनेछन् । त्यसअघि चार वर्ष प्रधानमन्त्रीका रुपमा राष्ट्रपति डिमिटी मेडभीडेभको अन्तर्गतमा काम गर्दा पनि पुटिनले सत्ताको शक्ती आफूमै केन्द्रित गरेका थिए । राष्ट्रपतिका रुपमा सुरुआती दुई कार्यकालमा पुटिनले पर्याप्त मात्रामा ग्याँस र तेल बेचेर रुसको अर्थतन्त्र बलियो बनाएका थिए । उनले अधिकांश रुसीहरुको जीवनशैलीमा सुधार ल्याए ।

राष्ट्रिय गौरव र स्थायित्वको भावना देशवासीमा विकास गरे । तर यसका बाबजुद रुसमा हुर्कदैँ गरेको प्रजातन्त्रलाई न्याक्ने काम गरेको आरोप पुटिनमाथि लाग्ने गरेको छ । सन् २०१२ मा उनी राष्ट्रपतिका रुपमा फेरि रुसको सत्तामा फर्कन लाग्दा सरकार विरोधी ठूलो प्रदर्शन भएको थियो । रुसमा सोभियतकालपछि पहिलो पटक भएको सरकार विरोधी त्यति ठूलो प्रदर्शनमा पुटिनले हस्तक्षेप गरे । उनले विरोधी नेताहरुलाई जेलमा कैद गरेर आन्दोलन मत्थर पारे ।

त्यतिबेला चर्चित नेता एलेक्सी नाभाल्नेलाई पनि नजरबन्द गरियो । नाभाल्नेले पुटिन सरकारले ठूलो भ्रस्टाचार गरेको खुलासा गरेका थिए । उनले पुटिनको युनाइटेड रसिया पार्टी चोर र लुटेराहरुको पार्टी रहेको सार्वजनिक अभिव्यक्ती नै दिएका थिए । पुटिनले आफ्नो विरोधमा उत्रनेहरुलाई कुनै हालतमा तह लगाउने गरेका छन् । उनी आफ्नो पार्टीमा पनि एस म्यानहरुलाई मात्रै ठाउँ दिन्छन् । यसअघि पुटिनको पहिलो कार्यकालमा उनका सहयोगी रहेका दुई धनाढ्य बोरिस बेरिजोभस्की र भ्लादिमिर गुस्निस्का कालान्तरमा पुटिनसँगको सम्बन्ध बिग्रिएपछि निर्वासित जीवन जीउन बाध्य बने ।

आर्थिक संकट सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी सुरु भएपछि पुटिनलाई पनि आफ्नो देशको अर्थतन्त्र जोगाउन संघर्ष गर्नुपरेको छ । पछिल्लो समय पेटोलियम पदार्थको भाउ घटेपछि रुसी अर्थतन्त्र ओरालो लागेको छ । रुसले थुप्रै विदेशी लगानीकर्ता र ठूलो लगानी गुमाइसकेको छ । गत वर्ष अमेरिकी डलरको तुलनामा रुसी रुवेलको भाउ सन् १९९८ पछि सबैभन्दा धेरै घटेको थियो । सन् २०१३ मा युक्रेनसँग द्धन्द्ध सूरु भएपछि यसको प्रत्यक्ष असर रुसको अर्थतन्त्रमा परेको छ । रुसी विभाजनकारीहरुले क्रिमियालाई रुसमा मिलाउने निर्णय गरेपछि युक्रेन पश्चिमा जगत्को शरणमा पुगेको थियो । त्यसपछि पश्चिमा जगत्सँग रुसको सम्बन्ध राम्रो छैन् । पश्चिमा जगत्ले गरेको नाकाबन्दीपछि रुसमा पानी र खाद्यान्न समेत अभाव हुन थालेको छ । शितयुद्धपछि पहिलो पटक रुस पश्चिमा जगत् र अमेरिकाको विरुद्धमा खडा भएको छ । रुसले युरोपेली यूनियनसँग रणनैतिक साझेदारको भूमिका निभाउँदै आएपनि अहिले त्यसलाई बन्द गरेको छ । यूक्रेनमा पश्चिमा जगत्को समर्थनमा बनेको नयाँ सरकारलाई पुटिनले असहयोग जारी राखेका छन् । यसअघि मस्को निकट मानिएका यूक्रेनका पूर्व राष्ट्रपति भिक्टोर यानूकोभिच अहिले रुसमै शरण लिन आएका छन् । पुटिन यूक्रेनमा पश्चिमा जगत्ले कू गरेको बताउँछन् । यसअघि यूक्रेन र पश्चिमा जगत्ले पूर्वी यूक्रेनमा दंगा भड्काउनका लागि रुसले पर्याप्त संख्यामा हतियार र सेना पठाएको आरोप लगाएको थियो । त्यस्ता आरोपको खण्डन गर्ने पुटिन रुसबाट स्वतस्र्फूत रुपमा थुप्रै व्यक्तीहरुले आन्दोलनकारीलाई सहयोग गरेको स्विकार्छन् ।

चर्च पुर्नस्थापना सन् २००६ देखी बेलायतसँग पुटिनको सम्बन्ध राम्रो छैन् । पुटिन विरोधी चुनावी अभियन्ता अलेक्यान्द्रर लिट्भीनिन्कोको सन् २००६ मा बेलायतमा निधन भएपछि अस्पतालले उनको खानामा विष मिलाइएको बताएको थियो । त्यसअघि नै एक रेडियो कार्यक्रममा अन्तरवार्ता दिदैँ लिट्भीनिन्कोले दुई रुसी गुप्तचरलाई भेटेको बताएका थिए । उनीसँग भेट्ने दुई एजेन्टले हत्या आरोप अस्विकार गर्दै आएका छन् । बेलायती प्रहरीका खोजीको सूचिमा रहेका दुईमध्ये एक एजेन्ट आन्द्रेइ लुगोभोई त सन् २००७ मै रुसको सांसद् बने । पुटिनले अन्तर्राष्टिय दबाब र मानवअधिकारवादी संस्थाहरुको विरोधका बाबजुद धनाढ्य मिखाईल खोदोरकोभोस्कीलाई जेलमा राखे । पुटिनको तेस्रो कार्यकाल उग्र रुसी राष्टवादको जगमा उभिएको छ । उनी आफ्ना विरोधीहरुलाई अराष्टवादीको संज्ञा दिएर पाखा लगाउँछन् । यसमा अर्थोडक्स चर्चले पुटिनलाई साथ दिएको छ । यसअघि तेस्रो लिंगीको मुद्धा उठाइरहेको समूहमाथि लगाइएको प्रतिबन्धलाई समर्थन गर्दै चर्चले पुसी रियोटको आलोचना गरेको थियो । रुसमा लगानीमा सञ्चालित गैरसरकारी संस्थाहरुले विदेशी एजेन्टका रुपमा मात्रै दर्ता हुन पाउने प्रावधान राखेर पुटिनले अर्को उग्रराष्टवादको नमूना देखाएका छन् ।

आपरदर्शी व्यक्तित्व अहिले विश्वकै शक्तीशाली व्यक्तिको सूचिमा पहिलो स्थानमा रहेका पुटिन आफ्नो सम्पत्तिका विषयमा भने खुला छैनन् । उनको सम्पत्ति र दुई छोरीका विषयमा संसार अनविज्ञ छ । पुटिनले आफ्नी छोरीसँगका तस्विर पनि सार्वजनिक गरेका छैनन् । तर अन्तर्राष्टिय सञ्चारमाध्यम रोयटर्सले उनकी कान्छी छोरी कैटरिना मस्कोको एक विश्वविद्यालयमा प्रशासनको माथिल्लो तहमा रहेको खुलासा गरेको छ । बाबु खेलमा आशक्त भएजस्तै छोरी नृत्यमा पारंगत छिन् । उनी एक्रोबेटिक रक एन्ड रोल प्रतियोगितामा आफ्नो नृत्य प्रदर्शन गर्छिन् । रोयटर्सले उनको नाम तिखोनोभा रहेको र उनी पुटिनका सहयोगी तथा पुराना साथि निकोलाई सामालोभका छोरा किरिलसँग प्रेम सम्बन्धमा रहेको पनि दाबी गरेको छ । पुटिनकी जेठी छोरी मारिया पनि प्रशासनमै कार्यरत छिन् । पुटिनसँग नजिकको सम्बन्ध राख्ने थुप्रै व्यक्तिका छोराछोरी रुसको प्रशासनमा माथिल्लो तहमा रहेको पनि रोयटर्सले जनाएको छ । पछिल्लो समय पुटिनलाई भ्रस्टाचारी बताउँने एलेक्सी नाभाल्नी उनको यो कार्यलाई नव सामन्तीको संज्ञा दिन्छन् ।

कमेन्ट गर्नुहोस्
Share: