
बिग न्युज पोखरा, १९ मंसिर । लोकगायक राजु परियारले पछिल्लो पटक गाएको गीत ‘दरौँ शिरुबारी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार पोखरामा एक विशेष कार्यक्रमको आयोजना गरि यसका निर्माताहरुले भिडियोलाई सार्वजनिक गरेका हुन् ।
स्याङ्जाको दरौँ शिरुबारीलाई जोडेर बनाईएको गीतले प्रेम विछोडको भाव बोलेको छ । यो गीत राजु परियार आफैले लेखेका हुन् । खासमा यो गीत उनको वास्तविक जीवनसँग मेल खाने भावको भएको यसको निर्माण यूनिटले जनाएको छ । ‘यो एउटा गज्जबको गीत हो । जुन गीत गायक राजु आफैको जीवनसँग पनि जोडिएको छ ।’ शनिबार गीतका संगीतकार जयकुमार परियारले भने–‘प्रेम विछोडमा गुज्रिएकाहरुलाई यो गीतले साँच्चै नै छुन्छ ।’
अडियोमा यो गीत अहिले सर्वाधिक हिट भैसकेको छ । राजु परियार धेरै पछि यहि गीतबाट पुनः लोकगायनको क्षेत्रमा सक्रिय भएर आएका हुन् । बीचमा राजु परियार केहि समय लोकसंगीतबाट गायब जस्तै थिए ।
यो गीतको भिडियोलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । दरौँ शिरुबारी क्षेत्रमै छायाँकन भएको भिडियोमा गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङ र मोनिका दाहालले अभिनय गरेका छन् । भिडियोमा तेज गिरी सहायक भुमिका देखिएका छन् ।
‘यो भिडियोलाई मैले सकेसम्म गीतको भावअनुसार लैजान खोजेको छु ।’ निर्देशक लामिछानेले भने–‘गीतको अडियो जसरी अहिले हिट भैरहेको छ भिडियोलाई पनि दर्शकहरुले त्यसरी नै मन पराईदिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
त्यस्तै भिडियोमा अभियन गरेका ताराबहादुर गुरुङले दरौँ शिरुबारी जस्तो राम्रो गीतमा अभिनय गर्न पाउँदा निकै खुशि लागेको बताए । उनको जन्मस्थान पनि दरौँ शिरुबारी नै हो । ‘आफ्नै जन्मस्थानसँग जोडिएको गीतमा अभिनय गर्नु मेरो लागि अहोभाग्य हो ।’ ताराबहादुरले भने । त्यस्तै अभिनेत्री मोनिका दाहालले पनि गीतमा अभिनय गर्न पाउनु आफ्नो लागि निकै उत्कृष्ट अनुभव भएको बताईन् ।
यो भिडियोलाई लक्ष्मी गुरुङले निर्माण गरेकी हुन् । प्रकाश गुरुङ ‘काश’ले खिचेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
