
रञ्जन अधिकारी पोखरा १९ मंसीर / पोखराको हेम्जा घर भई लेकसाईड स्थित माईतमा १० वर्षदेखि शरणमा परेकी गीता केसी एघार वर्षे वैवाहिक जीवन बिग्रनुमा सासु र ससुराको हात रहेको बताईन् । ‘छोरा नै १० वर्ष भयो । अहिले सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढेको छ । हाम्रो वैवाहिक जीवन सफल भएन ।’ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत पोखरामा शनिबार आयोजित परिचर्चा कार्यक्रममा केसीले भनिन्– ‘माईत सम्पन्न भएकैले म आजसम्म यसरी हिँड्न सकेको छु । मोटरसाईकल दाईजो नदिएकै कारण घरबाटै निस्कनुपर्ने बाध्यता आयो ।’ उनले श्रीमानले पहिले माया गरेपनि बुबाआमाको अगाडि केहि गर्न नसकेको सुनाईन् ।
टोल विकास संस्था वडा समन्वय समिति पोखरा ८ र महिला समन्वय समिति पोखरा ८ ले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा सहभागी डेढ सय महिलाहरुबीच केसीले आफूले भोग्नुपरेको हिंसा सुनाउने बित्तिकै महिलाबाट पीडित भएका एक पुरुषले झनै दर्दनाक अवस्था खुलाए । सृजनाचोकमा चिया पसल चलाएर बस्ने महेश रेग्मीले भने– ‘बिहे गरेको दुई वर्ष भयो । श्रीमती विनाकारण डिभोर्स माग्छ । ४० लाख दिनुपर्ने रे ।’ उनले मृगौला रोगी आफ्नी आमालाई कुटपिट समेत गर्ने गरेको र महिला अधिकारको नाममा विनाकारण दुई पटकसम्म प्रहरी हिरासतमा थुनाएर मानसिक तथा शारीरिक यातना दिएको समेत गुनासो गरे । नेपालको कानुनले महिलालाई अधिकार दिँदा आफ्नी श्रीमती जस्तो मानसिकता भएका महिलाले दुरुपयोग गरेको भन्दै उनले आफु अहिले मर्नु र बाँच्नुको अवस्थामा रहेको बताए ।
यी दुई लैंगिक हिंसाबाट पीडितको जीवनकथाबाट प्रष्ट हुन्छ; महिलामाथि हिंसा महिलाबाटै पनि हुनसक्छ । जसरी केसी र रेग्मीको परिवारमा सासु र बुहारीबाटै भयो । हिंसा पुरुषले महिलालाई मात्र गर्दैनन्, अधिकारको दुरुपयोग गर्दै महिलाले पुरुषलाई पनि गर्दै आएका छन् । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीकी महिला सेल प्रमुख प्रहरी निरीक्षक चन्द्रा गुरुङ भने महिलाले महिलालाई नै हिंसा गर्ने गरेको स्वीकार्दै महिलाले पुरुषलाई गर्ने हिंसा भने नगण्य मात्रामा रहेको बताउँछिन् । उनले नेपालको कानुन महिलाको पक्षमा राम्रो रहेकाले यसबारे जानकारी लिन आवश्यक रहेको बताईन् ।
‘सम्बन्ध विच्छेद गर्न महिलाले चाहे दुई दिनमा प्रक्रिया सकिन्छ तर पुरुष एक्लोको चाहनामा डिभोर्स भएको रेकर्ड मलाई थाहा छैन ।’ गुरुङले भनिन्– ‘विवाह दर्ता गर्नुस् । हिंसा सहेर नबस्नुस् । तर अधिकारको दुरुपयोग भने नगर्नुस् ।’ उनले आफु पोखरा ८ बासी नै भएकाले आफुलाई सम्झन आग्रह गर्दै कानुनको परिधिभित्र रहेर आफुले सक्दो सहयोग गर्ने पनि बताईन् । उनले पछिल्लो अवस्थामा महिला हिंसाको घटनामा कमी आएको भन्दै घरेलु द्वन्द्व र सम्बन्धविच्छेदका घटनामा भने वृद्धि भएको जनाईन् । कास्की जघन्य अपराध हुने क्षेत्रमा रहेपनि अन्य जिल्लाका तुलनामा कास्कीका महिलाहरु अधिकारका बारेमा सचेत रहेको उनको ठम्याई छ ।
नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले लैंगिक हिंसा विरुद्धको अभियान विशेष गरी महिलाहरु हिंसामा पर्ने भएकाले महिलाकै विषयमा केन्द्रित भएर गरिँदै आएको भएपनि पीडित पुरुषहरुको पाटो पनि देखाउन खोजेको बताए । वर्षमा १६ दिनमात्र होईन ३६५ दिननै महिला हिंसा विरुद्ध सचेत हुनुपर्ने उनको सुझाव छ ।
लायन्स क्लब ईन्टरनेशनल ३२५ बी १ डिस्ट्रिक्ट कोओर्डिनेटर प्रेमबहादुर जिसीले महिलाहरुको अवस्था पछिल्लो समयमा सुधारोन्मुख देखिएको र महिलाबाट महिलामाथि हुने हिंसा तथा दाईजो प्रथा अन्त्यका लागि महिला नै जाग्नुपर्नेमा जोड दिए । प्रतिभामार्ग टोल विकास संस्थाका अध्यक्ष डिल्लीराज पौडेलले हिन्दु धर्मशास्त्रमा जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवता खुशी हुन्छ भन्ने अंश नै रहेकाले नैतिक शिक्षामा जोड दिन आग्रह गरे । उनले आमा असल भए छोराछोरी असल बन्ने भएकाले पाश्चात्य संस्कृतिको सिको नगर्न पनि अनुराध गरे ।
ज्ञानकुञ्ज टोल विकास समितिका अध्यक्ष नन्दप्रसाद बरालले महिलाहरु गर्भदेखि नै हिंसामा पर्ने गरेको भन्दै महिलामाथि महिलाले गर्ने हिंसालाई भने महिलाले नै अन्त्य गर्नुपर्ने खाँचो औंल्याए । स्थानीय जमुना सुवेदीले ३२ वर्षअघि विहे गर्दा दाईजोको निहुँमा दुलाहाले जग्गेमै माला खोलेको तीतो घटना सुनाउँदै अहिले तीन छोराकी आमा बन्दा समेत जेठाजुसँगको सम्बन्ध सुधार नभएको बताईन् । नेपाली काँग्रेस वडा नं. ८ सभापति टेकन गिरी (सानो) ले विनाकारण महिलाहरु अधिकारका नाममा पुरुषलाई हिंसा दिन समेत पछि नपर्ने घटना आफुले देखेको सुनाउँदै दुरुपयोग नगर्न सुझाव दिए ।
कार्यक्रमको अध्यक्षता समेत गरेकी टोल विकास संस्था वडा समन्वय समिति पोखरा ८ की अध्यक्ष शारदा गिरीले वडाबासीहरु जो हिंसामा परेका छन् उनीहरुले जतिसुकैबेला समितिमा गुहार गर्न आउनसक्ने भन्दै सक्दो सहयोग गर्ने बताईन् । कार्यक्रममा उपाध्यक्ष शारदा सुवेदीले स्वागत तथा सचिव पार्वती पौडेलले कार्यक्रमको सञ्चालन गरेकी थिईन् । कार्यक्रमको बारेमा महिला समन्वय समिति पोखरा ८ की अध्यक्ष तारा केसी भट्टराईले प्रकाश पारेकी थिईन् ।
