‘भोकालाई मानो, नाङ्गोलाई न्यानो’ अभियानका साथ एमआरआरको चौथो वार्षिकोत्सव !

Share:

रञ्जन अधिकारी पोखरा, २५ मंसीर / विश्वभर छरिएर रहेका नेपाली युवाहरुको फेसबुक समुह मेन्स रुम रिलोडेड (एमआरआर) को चौथो वार्षिकोत्सव पोखराका सदस्यहरुले यहाँका सडकबालबालिकासँग मनाएका छन् । ‘भोकालाई मानो, नाङ्गोलाई न्यानो’ अभियान अन्तर्गत एमआरआर पोखराले न्युरोड स्थित चाईल्ड वेलफेयर स्किम नेपाल (सीडब्लुएसएन) को ज्योति स्ट्रीट प्रोजेक्ट अन्तर्गत संचालित कार्यालयमा पुगेर सडक बालकहरुलाई एक छाक खाना र न्यानो कपडा वितरण गरेको हो ।

सीडब्लुएसएनमा आश्रित तीन दर्जन बालकहरुलाई खाना र कपडा सहयोग गरेपछि आयोजित कार्यक्रममा बोल्दै संस्थाका सिईओ माधवप्रसाद आचार्यले युवाहरु यसरी सामाजिक सेवामा सक्रिय भएको देख्दा आफुलाई निकै खुशी लागेको बताए । ‘युवाहरु एक त आफ्नो मात्र ख्याल गर्ने, साथीभाइसँग नै बसेर समय खेर फालिरहेको पाईन्छ ।’ आचार्यले भने– ‘सामाजिक संजालमा भेला भएर एकजुट बन्दै यसरी सडक बालबालिका खोज्दै आउँदा हामीलाई खुशी लागेको छ।’ उनले सामाजिक संजाल दुरुपयोग गर्ने युवाहरुले एमआरआरका सहयोगी भावना भएका मेम्बरबाट केहि सिक्नुपर्ने बताए । उनले सहकार्य गर्दै अघि बढ्न आफुहरु तयार रहेको भन्दै असामान्य परिवेशबाट आएका यी बालकहरुलाई समाजमा पुर्नस्थापित गर्दै देशको सच्चा नागरिक बनाउन युवाहरुकै हात महत्वपूर्ण रहेको बताए ।

यस्तै, संस्थाको ज्योति सडक अभियानकी कार्यक्रम संयोजक निमा गुरुङले मायाले नै सडक बालबालिकालाई सुधार्न सकिने भन्दै सहयोग गर्न चाहनेहरुले बालकहरुको उज्ज्वल भविष्यका लागि सहकार्य गर्न सक्ने बताईन् ।

पत्रकार रञ्जन अधिकारीले एमआरआरमा आबद्ध दुई सदस्यहरु मुटुरोगी विष्णुप्रसाद अधिकारी र आफ्ना बुबा मृगौलाबाट पीडित रहेका सुजन नेपालीलाई समाचार लेखेर सहयोग सकंलन गरी उपचार गरिएको जानकारी गराउँदै भुकम्पका बेला पनि एमआरआरको अभियानमा १० हजार सहयोग उपलब्ध गराएको जनाए । उनले विभिन्न पेशा व्यवसायमा आबद्ध ७५ हजार युवाहरुमध्ये समाजसेवाको भावना रहेकालाई एकीकृत गर्दै एमआरआरले हरेक ठाउँहरुमा अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

20151211_142805

एमआरआर पोखराको अभियन्ता दामोदर भण्डारीले आफुले स्वयंसेवाको पहिलो पाइला नै एमआरआरबाट सुरु गरेको बताउँदै अहिले पोखरामै यसरी सामाजिक अभियानमा जुट्न पाउँदा खुशी लागेको बताए । कार्यक्रमको अध्यक्षता समेत गरेका एमआरआर पोखरा प्रतिनिधि सुर्य तिमिल्सिनाले ईच्छुक युवाहरुलाई समेट्दै आगामी दिनमा अझै राम्रा कार्य गर्दै जाने बताए । उनले अहिले तीन दर्जन सक्रिय युवाहरु पोखराको समूहमा आबद्ध भईसकेको जनाउँदै यसले हौसला मिलेको पनि बताए । कार्यक्रमको सञ्चालन नेशन शर्माले गरेका थिए । सो अवसरमा सक्रिय सदस्यहरुलाई प्रशंसापत्रले सम्मान पनि गरिएको थियो ।

एमआरआर पोखराले यसअघि ‘तान भाई तान आत्मनिर्भरताको शान’ भन्ने मुल नाराका साथ नेपाली पहिचान झल्कने ढाका टोपी र गोल्डस्टार जुत्तामा सहभागि हुँदै नाकाबन्दीको विरोधमा डोरीले गाडी तान्ने कार्यक्रम आयोजना गरेको थियो । बन्द विरुद्ध अब युवाहरु जाग्नुपर्छ भन्दै बन्द विरुद्धको ¥याली, पोखराका विभिन्न स्थानमा सरसफाई, शान्ति सद्भाव ¥याली आयोजना गरिसकेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा युवा उमेर समूहका ७५ हजार जना पुरुषमात्र रहेको सो समूहमा रहेका विभिन्न ठाउँका युवाहरु एकीकृत भई सामाजिक कार्यहरु गर्दै आएका छन् । सहयोगी भावना भएका युवाहरु जुटेर विनाशकारी भुकम्पको बेला प्रभावित जिल्लाहरुमा पुगेर स्वास्थ्यशिविर चलाउँदै राहत सामाग्री वितरण गर्ने जस्तो प्रशंसनीय काम गरिसकेको छ । यस्तै, काठमाण्डौंमा केहि साता अघि तीन दिने निःशुल्क सडक भोज कार्यक्रम समेत गरेको एडमिन विक्रम केसीले जानकारी दिए । समूहले नाकाबन्दीको यो समयमा लिफ्ट सेवा समेत जारी राखेको छ । यस्तै, सरसफाई, रक्तदान, दैवीप्रकोप तथा अस्वस्थ रहेका सदस्यहरुको उपचारका लागि सहयोग संकलन लगायतका सामाजिक कार्य समेत गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: