
ललितपुर, पुस १ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले ललितपुरको भैंसेपाटीस्थित टेलिभिजन प्रशारक संस्था डिस होमको अर्थ स्टेसनमा पेट्रोल बम प्रहार गरेका छन् ।
५/६ जनाको समूहमा आएका माओवादीका कार्यकर्ताले बुधबार बिहान अर्थ स्टेसनमा पेट्रोल बम प्रहार गरेका हुन् । बम प्रहारपछि डिस होमको प्रसारण बन्द भएको छ । वैकल्पिक उपायमार्फत् पुनः प्रसारणको तयारी भइरहेको डिस होमले जनाएको छ ।
भारतीय टेलिभिजन च्यानलको प्रसारण रोक्न पटकपटक गरिएको आग्रह बेवास्ता गरेकाले चेतावनी स्वरुप आक्रमण गरिएको नेकपा माओवादीले जनाएको छ ।
भारतले लगाएको अघोषित नाकाबन्दीसँगै चन्द नेतृत्वको नेकपा माओवादीले हिन्दी च्यानल प्रसारण बन्द गर्दै दबाब दिँदै आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
