काठमाडौं ३ पुस / केहि महिना अघिसम्म पश्चिमाञ्चल क्षेत्रको प्रशासक रहँदा पोखराको वृहत्तर विकासका लागि दर्जन बुँदे गुरुयोजना अघि सारी यहाँका जनताको मन जितेका दिनेशकुमार थपलिया अहिले पर्यटन मन्त्रालयका सचिव छन् । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्य र पर्यटन सचिव दिनेश कुमार थपलिया बीच जुहारी चलेको छ । सांसदहरुको चर्को आलोचना खेपेका सचिव थपलियाले आफूलाई कारवाही गरेर देखाउन चुनौति नै दिए । समितिले आफूले विभिन्न मितिमा दिएका निर्देशनको कार्यान्वयन स्थिति बारे जानकारी लिन शुक्रबारको बैठकमा पर्यटन सचिव थपलियालाई बोलाइएको थियो । थपलियाले पेश गरेका कामको फेहरिस्तलाई समितिका सदस्यहरुले कुरा मात्रै भनेर टिप्पणी गरेपछि दुई पक्षबीच जुहारी चलेको हो ।
सचिव थपलियाले समितिले दिएको निर्देशन अनुसार मन्त्रालयले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको मर्मत सम्भारको काम सुरु गरिसकेको बताए । उनले चालु आर्थिक वर्षको बजेटमा सम्पदाहरुको मर्मत सम्भारका लागि १ अर्ब ५० करोड रुपैयाँ छुट्याइए पनि मन्त्रालयले राष्ट्रिय योजना आयोगसँग स्वीकृति लिएर २ अर्ब १० लाख रुपैयाँको काम सुरु गरिसकेको भन्दै मर्मत सम्भारका लागि यो वर्ष ४ अर्ब रुपैयाँ चाहिने बताए । पर्यटन सचिव थपलियाले मन्त्रालयले नेपाल वायु सेवा निगमको सुधार सम्बन्धमा एक साताभित्र सुधार योजना ल्याउने गरी काम गरिरहेको पनि जानकारी पनि दिए ।
तर, नेपालीका काँग्रेसका सांसद्द्वय बलबहादुर केसी र प्रेमकिशोर साह तेलीले समितिको निर्देशन अनुसार मन्त्रालयले कामै नगरेको दाबी गरे । उनीहरुले सचिव थपलिया माथि समितिलाई गुमराहमा राख्न काम गरेको विवरण पेश गरेको आरोप समेत लगाए । केसी र तेलीले मन्त्रालयले निजी विमान सेवाहरुलाई पोसेको, नेपाल वायु सेवा निगमलाई नोक्सानी हुने गरी चीनबाटअनुदानका जहाज ल्याउने काममा संलग्न निगमका प्राविधिकहरुलाई उन्मुक्ति दिएको लगायतका आरोप लगाए ।
थपलियाले दिए चुनौती
जवाफमा सचिव थपलियाले आफूले समितिले लिखित रुपमा पत्राचार गरे अनुसार मन्त्रालयले गरेका कामबारे इमान्दारी पूर्वक जानकारी गराएको प्रष्टिकरण दिए । उनले आफ्ना कुरा पत्यार नलागे मन्त्रालय शून्यको अवस्थामा रहेछ भनेर कारवाही गरेर देखाउन चुनौतीसमेत दिए । समितिले गत वर्ष कात्तिक २६, पुस ९, पुस २७, जेठ ३ र जेठ २४ गते दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे जानकारी दिन पर्यटन सचिव थपलियालाई बैठकमा बोलाएको थियो । समितिले आफूले दिएका निर्देशनको कार्यान्वयन अवस्थाबारे निरीक्षण गर्ने निर्णय गरेको छ । समितिका सभापति प्रभु साहले समितिको आइतबार बस्ने बैठकले निरीक्षणमा सहभागी हुने सांसदहरुको टुंगो लगाउने जानकारी दिए ।
