रेम बिक
पोखरा, ३ पुस | विग आईकनको छैठौँ सँस्करण पुसको पाँच गतेदेखि शुरु हुने भएको छ । शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक संस्था विग एफएमले ‘विग आईकन’को बारेमा जानकारी दिएको हो । यो पटकको विग आईकनलाई ‘सामसुङ ग्यालेक्सी जे सेभेन’ मोबाईलले टाईटल प्रायोजन गरेको छ ।
विग एफएमका अनुसार यो पटक विग आईकनमा सहभागिताका लागि ४२ जिल्लाका ९ सय ३ जनाले फाराम भरेका छन् । ८ वर्षदेखि ७७ वर्षसम्मको वृद्धले यो पटक विग एफएममा सहभागिता जनाएको एफएमले जनाएको छ । ‘देशको यस्तो खाले चुनौतीपूर्ण समयमा पनि स्रोताहरुको बाक्लो सहभागिता देखेर हामीलाई थप हौसला मिलेको छ ।’ पत्रकार सम्मेलनमा विग एफएमका अध्यक्ष महेश भण्डारीले भने–‘यसले प्रतियोगिताको छवि उँचो भएको हामीले महशुस गरेका छौँ ।’
गायन प्रतिभालाई उत्कृष्ट मञ्च दिँदै उनीहरुको बजारिकरण गर्नका लागि विग आईकनको अवधारणा ल्याएको विग एफएमले जनाएको छ । अहिलेसम्म पाँच जनाले यो उपाधी पाईसकेका छन् । पाँच गतेदेखि शुरु हुने विग आईकनको यो सिजन करिब २ महिनासम्म चल्नेछ । दुई महिनाको बीचमा १९ चरणको अडिसन हुने विग एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले जानकारी दिए ।
यो पटक विग आईकनको निर्णायक मण्डल पनि पाँच जनाको रहेको छ । यस अगाडि निरन्तर रुपमा निर्णायक रहँदै आएका श्यामसुङ तामाङ, सुनील थापा, विनोद बाँनीयासँगै चर्चित गायकद्वय कर्णदास र विवेक श्रेष्ठ पनि निर्णायक रहने पत्रकार सम्मेलनमा जानकारी दिईयो । लामो समय यता विदेशमा रहँदै आएका गायक कर्णदास र विवेक श्रेष्ठलाई विग एफएमले गायन रियालिटि शो को निर्णायकको रुपमा ‘क्यास’ गरेको यो पहिलोपटक हो ।
छैठौँ सँस्करणको विग आईकनको विजेताले उपाधीसँगै १ लाख ७५ हजार रुपैयाँ बराबरको हिरो ड्यास स्कुटर र बेलायतको साँगीतिक यात्रा पुरस्कार स्वरुप पाउने एफएमले बताएको छ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट १० प्रतिभा छनौटका लागि निर्णायकहरुको शतप्रतिशत अधिकार रहनेछ । उत्कृष्ट १० पछि उत्कृष्ट तीनसम्म छनौटका लागि निर्णायकको अग्राधिकार रहनेछ । ग्राण्ड फिनालेमा भिड्ने तीन जना प्रतिस्पर्धीका लागि भने उत्कृष्ट छान्ने सर्वाधिकार स्रोताको एसएमएस मतदानमा रहने एफएमले जनाएको छ ।
छैठौँ सँस्करणको विग आईकनमा हालसम्म टाईटल स्पोन्सरको रुपमा सामसुङ मोबाईल, सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स नेपाल, प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपलडाली मसला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।
त्यस्तै सपोर्टेड बाई टाईटलमा एब्स्ट्रयाक्ट एजुकेशन नेटवर्क, पावर्ड बाई टाईटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन, मिडिया पार्टनरमा एभिन्यूज टेलिभिजन, कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अनलाईन पार्टनरमा जक्शन डटकम, म्यागेजिन पार्टनरमा ‘यस’ म्यागेजिन, होटल पार्टनरमा होटल बाराहि, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट न्युरोड, बैंकिङ पार्टनरमा गरिमा विकास बैंक र ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।
तस्विर विवेक आचार्य जक्शन डटकम
