
काठमाडौं, ६ पुस-
माउ कम्पनी टेलिया सोनेरियाले गरेको घोषणा अनुसार नेपालमा मोबाइल सेवा प्रदान गर्दै आएको कम्पनी एनसेलको स्वामित्व बिक्री भएको छ । एनसेललाई मलेसियन टेलिकम कम्पनी एक्सियटाले १ खर्ब ४० अर्ब रुपैयाँमा खरिद गरेको हो । यो व्यवसायीक सम्झौता नेपालकै ठूलो भएको बताइएको छ । एनसेलमा टेलिया सोनेरियाको मात्रै ६०.४ प्रतिशत लगानी थियो भने भाईजर कम्पनीको १९.६ प्रतिशत र नेपाली व्यवसायी गोविन्द वैद्यको २० प्रतिशत शेयर थियो ।
एनसेलमा रहेको निरजगोविन्द श्रेष्ठको सेयर पनि टेलियासोनेराले भावना सिंह श्रेष्ठलाई चार अर्ब ८० करोड रुपैयाँ मा बिक्री गरेको छ । यस्तै, भाइजर कम्पनीको १९.६ प्रतिशत सेयर पनि एक्सियटा आफैंले खरिद गरेको छ । टेलिया सोनेरियाले ४ महिना अघि नै नेपालबाट एनसेलको लगानी फिर्ता लैजाने घोषणा गरिसकेको थियो । नेपाल लगायतका करिब १० वटा देशबाट लगानी फिर्ता लगि यूरोपियन क्षेत्रमा सेवा विस्तार गर्ने टेलिया सोनेरियाले जनाएको छ ।
सुरुमा मेरो मोबाइलबाट सेवा सुरु भएपनि पछि टेलिया सोनेरियाले खरिद गरेपछि नाम परिवर्तन गरी एनसेल राखिएको थियो । नेपाल लगायत केही देशमा गरेको लगानीबाट प्रतिफल लैजान भएको कठिनाई, स्थानीय साझेदारमा समस्याका कारण कजाखस्तान, उज्वेकिस्तान, अजरबैजान, जर्जिया, माल्डोभा र ताजकिस्तानबाट लगानी फिर्ता गर्ने टेलियासोनेराले घोषणा गरेको थियो ।
