
रञ्जन अधिकारी पोखरा, ६ पुस। नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले भारतले मधेशमार्फत नेपाललाई सिक्किम बनाउन खोजेको बताएका छन् । हाल मधेसमा जारी आन्दोलन र भारतको नाकाबन्दीले नेपालका दलहरूलाई राष्ट्रियता वा आत्म समर्पणमध्ये एक रोज्न बाध्य पार्ने अवस्था सिर्जना गरेको उनको भनाई छ ।
पार्टीको खुला मोर्चा राष्ट्रिय जनमोर्चा कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। जस्तोसुकै सम्झौता गरेर भए पनि नाकाबन्दी खुलाउनु पर्ने भन्ने केहीको विचार आएको प्रति आक्रोश व्यक्त गर्दै उनले भने–‘पेट्रोल देऊ, देश लैजाऊ भन्न सकिन्छ ?’ सतहमा नाकाबन्दी देखिए पनि भित्रीरुपमा नेपाल स्वतन्त्र राष्ट्र रहन्छ वा रहँदैन भन्ने प्रश्न उठेको भन्दै सिंहले भने–‘हामीले आन्दोलनका क्रममा भारतको विरोध गर्दा पूर्वाग्रह ठान्नेहरूलाई पनि अहिले भारतको भूमिका स्पष्ट भएको छ।’ उनले २००७, २०४६, २०६२÷६३ लगायतका नेपालका आन्दोलन र विश्वका कुनै पनि आन्दोलनमा पनि पूरै देशका नागरिक सहभागी नभएको उल्लेख गरे। सिंहले भने–‘संसारमा कुनै पनि आन्दोलनमा पूरै देश सहभागी भएको छैन। देशमा देशद्रोही पनि धेरै हुन्छन्।’
संघीयताको चर्काे विरोध गर्दै आएका सिंहले हालै जारी भएको संविधानलाई भने ऐतिहासिक भएको बताए। उनले भने–‘यसले जनताका सबै माग त पूरा गर्दैन तर यो ऐतिहासिक काम हो।’ तराईमा दुई प्रदेश र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र बनाएर वैधानिक रुपमै तराईलाई भारतमा मिलाउने षड्यन्त्र भएको उनले बताए। सिंहले भने–‘आत्मनिर्णयको अधिकार मागी संसदबाटै बहुमत जुटाएर भारतमा तराई मिलाउने भित्री चाल छ।’ भारतले कर्णाली र कोशीको पानी आफूखुसी उपयोग चाहेको उनले बताए।
सिंहको पार्टी पहिलो चोटि सरकारमा गएको छ। पार्टी सरकारमा भए पनि अर्धभूमिगत रहेका सिंहले आफ्नो पार्टी भूमिगत रहेकाले आफू सार्वजनिक नभएको बताए।
उनले विश्वमा राजनीतिक स्वतन्त्रताका लागि सयौं वर्ष सङ्घर्ष र लाखौंले वलिदानी गरेको स्मरण गर्दै नाकाबन्दीको प्रतिवादमा लाग्नु पर्ने उल्लेख गरे। उनले भने–‘पारवहन अधिकारको वकालत, अन्य राष्ट्रसँग सम्झौता, चीनसँग व्यापार बढाउने र देशकै पानी र स्रोत, साधन उपयोगमा जोड दिनु पर्छ।’ भारतले हालसम्म तीन पटक नाकाबन्दी गरी सकेकाले दीघकालीन समाधानका लागि सोच्नु पर्ने उनको निष्कर्ष छ।
उनले प्रमुख राजनीतिक दलहरूको अडानका कारण नै संविधान जारी भएको बताए। सिंहले सोही प्रकारको एकता देशमा आवश्यक रहे पनि दलहरूलाई फुटाएर आफ्नो स्वार्थ पूरा गर्ने काम भइरहेको उल्लेख गरे। नाकाबन्दी र समस्या समाधानका लागि सबै नेपाली एकजुट हुनु पर्नेमा जोड दिएका उनले आफ्नै नेतृत्वमा बनेको कम्युनिष्ट पार्टी दर्जनौ पटक फुट्दा आन्दोलन कमजोर बनेको स्वीकार गरे। उनले भने–‘यो द्वन्द्वको नियम हो।’ पत्रकार सम्मेलनको सञ्चालन राष्ट्रिय जनमोर्चा कास्कीका सचिव आकाश गौतमले गरेका थिए।
