‘अपाङ्गता भएका व्यक्ति पनि अन्य सरह काम गर्न सक्छन्’

Share:

रञ्जन अधिकारी  पोखरा, ८ पुस / अपाङ्गता भएका व्यक्तिहरु पनि अवसर पाएको खण्डमा साङ्ग सरह काम गर्न सक्छन् भन्ने उदाहरण बुधबार अपांगता भएका व्यक्तिहरुको रोजगारीका सन्दर्भमा पोखरामा आयोजित क्षेत्रीय स्तरको अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले प्रस्तुत गरे । पश्चिमाञ्चलका विभिन्न जिल्लाबाट आएका सहभागीहरुले आफुहरुको काम अन्य सरह भएको बताईरहँदा रोजगारदाताले समेत उनीहरुबाट अनुशाषित ढंगले काम भएको स्पष्ट पारे ।

राष्ट्रिय अपांग महासंघ नेपालले आयोजना गरेको अन्र्तक्रियामा विभिन्न जिल्लाका ७० बढि अपांगता भएका व्यक्ति, रोजगारदाता, महासंघको प्रतिनिधि, पत्रकारको सहभागिता थियो । सीबीएम नेपालको सहयोगमा भएको कार्यक्रममा अपांगता भएका व्यक्तिहरुबाट निर्मित सामाग्रीको प्रदर्शनी सहित रोजगार मेला समेत आयोजना गरियो ।

सो अवसरमा महिला तथा बालबालिका कार्यालय, कास्कीकी प्रमुख लक्ष्मी जिसी कार्कीले अपांगता भएका व्यक्तिहरुको लागि आएको रकम अन्यत्र खर्च हुन नहुने भन्दै बजेट लक्षित वर्गसम्म पुग्नुपर्नेमा जोड दिईन् । उनले लोकसेवा तयारीका लागि मन्त्रालयले तालिम नै आयोजना गर्दै आएको जनाउँदै यस्ता तालिममा सहभागी भई आफ्नो कोटा मार्फत निजामति सेवामा प्रवेश गरी रोजगार बन्न पनि सुझाव दिईन् ।

महासंघकी केन्द्रिय महासचिव टीका दाहालले महासंघले देश भर नै यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताउँदै रोजगार मेला संचालन गर्नुपर्ने कारण नै अपांगता भएका व्यक्तिप्रतिको व्यवहार सुधार्नका लागि रहेको बताईन् । ‘अपांग हो, काम गर्न सक्दैन भन्ने मानसिकता छ । तर, अवसर पाए गर्न सक्छन् ।’ उनले भनिन्– ‘अपांगता भएका व्यक्ति आफैंमा सकारात्मक सोच र प्रेरणाको खाँचो छ । उनीहरु गर्न सक्छन् भन्न पनि यस्तो कार्यक्रम आयोजना भएको हो ।’

महासंघका केन्द्रिय सदस्य शिशिर खनालले अपांगता भएका व्यक्तिहरुलाई रोजगार दिने उत्प्रेरणा जागोस् भन्ने उद्देश्यले कार्यक्रम गरेको बताए । सो अवसरमा महासंघका प्रतिनिधि सागर प्रसाईंले अपांगता भएका व्यक्तिहरु पनि सबलाङ्ग जस्तै सक्षम रहेको बताए । विमल पौडेल, प्रेम परियार, कमल पुन लगायतले अनुभव आदानप्रदान गरेका थिए ।

यसैबीच, राष्ट्रिय अपांग महासंघ नेपालको सातौं अधिवेशन तथा १६ औं साधारणसभा पोखरामा यही पुस ११ र १२ गते हुँदैछ ।

कमेन्ट गर्नुहोस्
Share: