
रञ्जन अधिकारी पोखरा, ८ पुस / बिना विभागीय मन्त्री शान्ता मानवीले कृषिप्रधान मुलुक नेपाललाई कृषिले नै आत्मनिर्भर बनाउने बताएकी छन् । उनले अहिलेको सरकारको प्राथमिकतामा कृषि परेको पनि जनाईन् ।
पोखराको पृथ्वीचोकमा बुधबार सौजन्य कृषि बजारको उद्घाटन गर्दै मन्त्री मानवीले सरकारका मुख्य प्राथमिकताका क्षेत्रहरु मध्ये कृषि पहिलो स्थानमा रहेको बताईन् । ‘कृषिले नै हाम्रो मुलुकलाई आत्मनिर्भर बनाउँछ’– उनले थपिन्– ‘नीजि क्षेत्रको सहयोगले थप प्रेरणा मिल्नेछ ।’
भारतले लगाएको नाकाबन्दीले आत्मनिर्भर बन्न सघाएको उनको भनाई थियो । ‘अहिलेको नाकाबन्दीले पनि आत्मनिर्भर बनाउन झकझक्याएको हो’–उनले भनिन्–‘प्रधानमन्त्री आफैले कृषि विकासका सवालमा गम्भीर भएर मन्त्रालयमा स्पष्ट निर्देशन दिईसक्नुभएको छ ।’ दुई तिहाई जनसंख्या किसान रहेको मुलुकमा सबै खाद्य पद्धार्थमा समेत भारतको भर पर्नुपर्ने विडम्वनापूर्ण अवस्था रहेको भन्दै उनले उत्पादक किसान र उपभोक्ताबीचको सिधा सम्पर्क नहुँदा किसानको अवस्था माथि उठ्न नसकेको बताईन् ।
बिचौलियाहरुको प्रवेश रोक्न सक्ने हो भने मात्र कृषकको भलो हुने र सोचे जस्तो किसानलाई प्रेरित गर्न सक्ने उनको भनाई थियो । ‘आत्मनिर्भर बन्नुपर्छ भन्दाभन्दै झन् धेरै परनिर्भर बन्दै गएका छौं’ मानवीले भनिन्– ‘कृषिलाई अब आधुनिकिकरण र यान्त्रिकरण गर्नुपर्छ ।’
कार्यक्रममा क्षेत्रिय कृषि कार्यालय पोखराका प्रमुख बेनीबहादुर बस्नेतले नीजि साझेदारीको नीति अनुसार बजार स्थापना भएकोमा खुसि व्यक्त गरे । बजार संचालन समिति अध्यक्ष अम्मरबहादुर केसीले नाकाबन्दीको समयमा पनि सानो पुँजी संकलन गरी सबै जुटेर बजार संचालनमा ल्याएको बताए । उपत्यका नगर विकास समिति पोखराका पुर्व अध्यक्ष जित बहादुर तमु, अखिल नेपाल किसान संघका केन्दीय सदस्य डिबि कार्की, नेकपा एमाले कास्कीका नेता पुण्य पौडेलले बजार स्थापना गरेर किसानलाई राहत हुने काम गर्न आग्रह गरे ।
पृथ्वीचोकबाट नागढुगांतर्फ जाने बाटोबाट करिब सय मिटर भित्र रहेको सौजन्य कृषि बजार प्रबद्र्धनका लागि कृषि मेलाको आयोजना पनि गरीएको छ । बुधबारदेखि सुरु मेला पुस १२ गतेसम्म चल्नेछ । मेलाको अवसरमा कृषि उत्पादनहरुलाई विशेष छुटमा उपलब्ध गराइएको सञ्चालक सन्तोष आचार्यले बताए । मेलाको अबसरमा ख्यातिप्राप्त कलाकारहरुले सांगितिक प्रस्तुति पनि राखिएको छ ।
