
रञ्जन अधिकारी पोखरा, १० पुस / पुस १० गते शुक्रबार, कवि भूपी शेरचनको ८० औं जन्म जयन्ती । उनको जन्मजयन्तीका अवसरमा पोखरामा शुक्रबार भुपी विशेष कवि गोष्ठी आयोजना गरियो । थकाली सेवा समिति, पोखराले भूपीको स्मृतिमा कवि गोष्ठी आयोजना गरेको हो । यसअघि, गत शनिबार पोखरेली युवा सांस्कृतिक परिवारले पनि विशेष कवि गोष्ठी आयोजना गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार प्रकाश सायमीले भुपी शेरचन कविहरुका कवि भएको भन्दै युवा पुस्ताका लागि प्रेरणाको पात्र भएको बताए । ‘उहाँले यस्तो प्रभाव पार्नुभयो एक उमेरमा जो पनि भुपी शेरचन जस्तै कवि हुन खोज्छ ।’ सामयमीले भने– ‘उनी नाप्नै नसक्ने व्यक्तित्व हुन् । जसलाई हामी ८० औं वर्षसम्म पनि सम्झिरहेका छौं ।’ कसैलाई नटेर्ने, नगन्ने स्वरसम्राट नारायणगोपालको एक मात्र हितैषी भुपी शेरचन, जसलाई मात्र नारायण गोपालले दाइ भनेर सम्बोधन गर्थे भन्दै सायमीले भुपीले पनि नारायणगोपाललाई सानोबाबु भन्ने गर्ने स्मरण गरे ।
साहित्यकार क्षेत्रबहादुर कुँवरले कवि भूपीसँग व्यक्तिगत सम्बन्ध पनि रहेको जनाउँदै उनी नेपाली कविताको क्षेत्रमा अग्रणी नाम भएको बताए । सो अवसरमा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेल, साहित्यकार दुर्गाबहादुर शाह बाबा, संगीत नाट्य प्रतिष्ठानका प्राज्ञ प्रकाश घिमिरे, कवि सरस्वती प्रतिक्षा, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाट, सुर्य खड्का बिखर्ची, असफल गौतम, मन क्षेत्री, शुशिल ज्वारचन, जगन्नाथ रेग्मी, डा. सोमतसिंह तुलाचन, रमा प्राशर, रामलाल बाटाजु, अशोक शेरचन, रोजिन्द्र तुलाचन र ध्रुबकुमार भट्टचनले आफ्ना र भुपीका कविताहरु वाचन गरे ।
गायक विनोद बानियाँले भूपीका सानै हुरीमा वैशको सपना, यो नेपाली शीर उचाली र अल्झेछ क्यारे पछ्यौरी गरी तीन गीत प्रस्तुत गरे । थकाली सेवा समितिका अध्यक्ष विश्वमोहन गौचनको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक मिलन शेरचनले स्वागत गरेका थिए ।
भुपीको निधन भएको एक महिना अघि सुरेन्द्र गौचनले २०४६ साल वैशाखमा गरेको अन्तर्वाता र सो अवसरमा भुपीको मुखबाट वाचन गरिएको कविता समेत पहिलोपटक पोखरामा सार्वजनिक गरिएको थियो ।
१९९२ पुस १० गते मुस्ताङको टुकुचेमा जन्मेका उनको नाम भूपेन्द्रमान शेरचन भएपनि नेपाली साहित्य आकाशमा भूपि शेरचनका नामले परिचित बने । कवि भूपीले नयाँ धारको कविताको शैलीलाई विकास गरेका थिए । उनले हिँडेको कविताको बाटो नै अहिले कविता हिँडिरहेको बताईन्छ । सरल र अनुप्रासयुक्त शब्दहरुमार्फत् सामाजिक विकृतिविसंगतिमा प्रहार गर्नु र परिवर्तनको आव्हान गर्नु उनका सिर्जनाका विशेषता हुन् ।
‘घुम्ने मेचमाथि अन्धो मान्छे’ उनको सबैभन्दा चर्चित कृति हो । शेरचनका ‘परिवर्तन’ नाटक (२०१०) , ‘नयाँ झयाउरे’ गीतिकविता संग्रह (२०१०), ‘निर्झर’ (कविता संग्रह (२०१५), ‘घुम्ने मेचमाथी अन्धो मान्छे’ कवितासंग्रह (२०२५), र पछिल्लो समय २०५७ सालमा शिव रेग्मीको सम्पादनमा ‘भूपि शेरचनका कविताहरू’ –कवितासङ्ग्रह (२०५७) कृति प्रकाशन भएका छन् कवि शेरचनका नयाँ झ्याउरे , निर्झर र घुम्नेमेचमा अन्धोमान्छे कविता संग्रह प्रकाशीत छन । भूपि शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे कृति साझा पुरस्कार पाउने पहिलो कृति हो । उनको निधन २०४६ जेठ १ गते भयो ।
