राष्ट्रपतिमाथि भएको अपमानजनक व्यबहारबारे सरकारद्धारा संसदलाई जानकारी

Share:

काठमाडौँ, १२ पुस-
सरकारले जनकपुरमा राष्ट्रपतिमाथि भएको अपमानजक व्यबहारबारे संसदलाई जानकारी गराएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले सार्वजनिक महत्वका केही विषयमा सरकारको धारणा प्रस्तुत गर्दै यही पुस १ गते जनकपुरमा भएको घटनाबारे जानकारी गराए ।
जनकपुरमा राष्ट्रपतिमाथि भएको अपमानजक एवम् अभद्र व्यवहारको सरकारले निन्दा गरेको र उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा तीनवटै सुरक्षा निकायका उच्च पदाधिकारी सम्मिलित छानबिन टोली गठन गरिएको जानकारी दिए ।
जानकी मन्दिरमा तोडफोड तथा राष्ट्रपतिमाथि पेट्रोल बम प्रहार गरेको अभियोगमा ११ पुरुष र चार महिला पक्राउ परेकामा तीन जनालाई सार्वजनिक अपराध ऐन र एकलाई प्राचीन स्मारक ऐनअन्तर्गत कारबाही अघि बढाइएको गृहमन्त्रीले बताए ।
राष्ट्राध्यक्षमाथि अभद्र व्यवहार गर्ने तथा जानकी मन्दिरका महन्थमाथि कुटपिट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि सरकार प्रतिवद्ध रहेको उनले स्पष्ट गरे ।

कमेन्ट गर्नुहोस्
Share: