कास्कीको लेखनाथमा आगलागी हुँदा २ जनाको मृत्यु, एक घाईते

Share:

नवराज ढुङ्गाना,
पोखरा, १२ पुस-
कास्कीको लेखनाथमा आगलागीमा परी २ जनाको मृत्यु भएको छ । एकजना गम्भिर घाईते भएका छन् ।
लेखनाथ नगरपालिका वडा नम्बर १२ स्थित माथिल्लो गगनगौंडाका इन्द्रप्रसाद अधिकारीको घरमा आगलागी हुँदा ४५ बर्षीय अधिकारी र उनका ६/७ महिनाको बच्चाको मृत्यु भएको हो । बच्चाको घटनास्थलमै र इन्द्रप्रसादको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आगलागीमा परी इन्द्रप्रसादकी श्रीमती सावित्री गम्भिर घाईते भएकी छिन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।
घटना गएराती घटेको भएपनि आज बिहान मात्रै थाहा भएको प्रहरीले जनाएको छ । बच्चालाई न्यानो पार्न बालिएको भुसे चुलोबाट आगो सल्किएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी मृत्यु भएका दुवैजनाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: