बाबुराम भट्टराई भन्छन्– सीमांकनको टुङ्गो लगाएर मधेस आन्दोलनलाई सम्बोधन गर्नुपर्छ

Share:

काठमाडौँ, १८ पुस-
नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले तराई–मधेसमा जारी आन्दोलनको मुख्य विषय सीमाङ्कन टुङ्ग्याएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
तराई–मधेसमा जारी आन्दोलनका समस्यालाई समाधान गर्ने सम्बन्धमा आज आफ्नै निवास सानेपामा रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उनले  विगतको सहमतिका आधारमा सीमाङ्कनका विषय अन्त्य गर्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने– “सीमाङ्कनको मुद्दा तत्काल टुङ्गाएर जाँदा नै राम्रो हुन्छ, झगडा र आगोको बीउले सानो भए पनि पछि विकराल रुप लिने भएकाले अहिले नै टुङ्ग्याउनु राम्रो हुन्छ, त्यसले दिगो शान्ति कायम गर्न सकिन्छ ।”
उनले संविधानसभा, राज्य पुनःसंरचना समिति र अन्तरिम संविधान बमोजिमको राज्य पुनःसंरचना आयोगका सिफारिसका आधारमा प्रमुख दलबीच सहमतिको गरेर समस्याको समाधान गर्न सकिने स्पष्ट पारे ।
सङ्घीय प्रदेशको सीमाङ्कनका विषयमा पश्चिमको थारु बाहुल्य क्षेत्र, मध्य क्षेत्रको मगर बाहुल्य पहाडी क्षेत्र र पूर्वको मधेसी थारु बाहुल्य क्षेत्रमा बढी बहस र विवाद रहेकाले त्यस विषयमा राजनीतिक सहमति खोज्नुपर्नेमा डा भट्टराईको जोड थियो । “आर्थिक विकास र समृद्धिका लागि दिगो शान्ति र स्थायित्व चाहिन्छ, त्यसका लागि मुलुकका खस, आर्य, जनजातिबीचमा समझदारी गरेर अधिकार बाँडफाँट गरी अगाडि बढ्नुपर्छ ” उनले भने ।
आगामी केही महिनाभित्र वैकल्पिक राजनीतिक पार्टीका रुपमा नयाँ शक्ति आउने जानकारी दिँदै उहाँले सकभर छिटो, राम्रो र दिगो तथा सदाचारयुक्त र भ्रष्टाचाररहित पार्टी घोषणा गरिने बताए ।

कमेन्ट गर्नुहोस्
Share: