
रञ्जन अधिकारी पोखरा, २० पुस / उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले नयाँ संविधान सम्झौताको साझा दस्तावेज भएकाले सबैले स्वीकार गरी अघि बढ्नुपर्ने बताएका छन् । विविधता बोकेको संविधानसभाबाट सबैले चाहेजस्तो संविधान निर्माण गर्न नसकिने भएकाले यो संविधान नै उत्कृष्ट भएको बताए ।
नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले संचालन गरेको ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताकै माझमा’ राष्ट्रव्यापी प्रचार अभियान अन्तर्गत पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै स्थानीय विकास मन्त्री समेत रहेका थापाले यस्तो बताएका हुन् ।
‘प्रजातान्त्रिक अभ्यासबाट सम्झौताको साझा दस्तावेजका रुपमा यो संविधान रहेको छ ।’ थापाले भने– ‘संविधानसभामा भिन्न विचार भएका ३१ दल थिए, सबैले चाहेजस्तो संविधान बन्न सहज थिएन ।’ उनले कतिपय विषयहरुमा साझा विन्दु समेत प्राप्त गर्न सम्भव नभएको भन्दै यो संविधानले अलग विचार बोक्नेहरुलाई एक ठाउँमा उभिन सक्ने साझा धरातल प्रदान गरेको बताए । ‘तपाईंहरुलाई थाहा छ, राजसंस्था चाहिन्छ भन्ने पनि थिए, जनवादी व्यवस्थामा अडान लिने पनि थिए । हिन्दु धर्म चाहिन्छ भन्ने पनि थिए निरपेक्ष हुनुपर्ने भन्ने पनि थिए ।’ राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले भने– ‘संघीयता हुँदै हुन्न भन्ने पनि थिए, हुनैपर्छ भन्ने पनि थिए । त्यसैले यस्तो अफ्ठेरोबाट बनेको संविधान जे बन्यो, यही नै उत्कृष्ट हो ।
उपप्रधानमन्त्री थापाले संविधान अपरिवर्तनीय नहुने भएकाले आफैले भनेजस्तो भएन भन्दैमा आन्दोलित हुनुपर्ने अवस्था नरहेको बताए । यो संविधानमा मुलभुत चार विशेषता रहेको भन्दै उनले थपे– ‘पूर्ण विचार स्वतन्त्रताको व्यारेन्टी, कुनै पनि अवस्थामा पार्टी प्रतिबन्धित नहुने अवस्था, आवधिक निर्वाचन र संविधान संशोधन गर्न सक्ने सरल र लचकतापूर्ण व्यवस्था रहेको यो मुलुभुत मान्यताका कारणले गर्दा संविधान उत्कृष्ट छ ।’
उनले यही कारणले जनताप्रति विश्वास हुनेले फरक मान्यता भएपनि संविधान स्वीकार गरी अघि बढे भविष्यमा आफ्नै मान्यता स्थापित गर्न सक्ने बताए । ‘संविधानको विपक्षमा भोट हालेको राप्रपा नेपालदेखि माओवादी अहिले यही कारण संविधानमा अटाएको हो’ उनले भने– ‘समावेशी समानुपातिक सिद्धान्तको प्रत्याभुति अर्को विशेषता भएकाले यो संविधान उत्कृष्ट संविधानका रुपमा रहेको छ।’
थापाले संविधानमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित रहेकाले महिलामैत्री संविधान संसारका विरलै मुलुकमा रहेको ठोकुवा गरे । संवैधानिक बेञ्चदेखि महिला आयोग, मधेशी, आदिवासी जनजाति, मुस्लिम, दलित आयोगहरु स्पष्ट रुपमा संविधान रहेकाले कोहि संविधानको विरुद्ध उत्रन नपर्ने बताए ।
उनले आन्दोलनलाई अनावश्यक तन्काउन खोज्दा अतिवादी र विखण्डनवादी हावी हुने भएकाले राष्ट्र हितलाई मध्यनजर गर्दै संवादमार्फत अघि बढ्न आन्दोलनरत मधेशी मोर्चालाई आग्रह पनि गरे । धेरै माग पुरा भईसकेको, केहि संशोधन प्रक्रियामा रहेको र केहि नपुग भए पछि परिवर्तन हुने भएकाले मुलुकलाई असफल नबनाउन पनि उनको आग्रह थियो ।
गत वर्ष पुसमा हिन्दु धर्म र राजसंस्थाको पक्षमा जनमत बटुल्न मेची महाकाली रथयात्रा क्रममा पोखरा आएका राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापा ठ्याक्कै एक वर्षमा यसपटक भने धर्म निरपेक्ष र गणतान्त्रिक संविधानको बारेमा व्याख्या गर्न आईपुगेका हुन् ।
व्यवस्थापिका संसदका सदस्य एवं विकास समितिका सभापति रविन्द्र अधिकारीले यो संविधान मुल कानुन मात्र नभएको भन्दै शान्तिको दस्तावेज समेत रहेको बताए । उनले संविधानमा आफ्नो एजेण्डा छ भन्ने लाग्नेले समर्थन गर्दै हिँडेको र छैन भन्ने लाग्नेले छैन भन्दै हिँडेको चर्चा गर्दै सबैको सम्झौताको दस्तावेज भएकाले कसैले पनि भनेजस्तो नभएको र संविधानसभाले यो भन्दा राम्रो पनि लेख्न नसक्ने बताए । उनले प्रादेशिक संरचनाको व्यवस्थापनका लागि अविलम्व संक्रमणकालीन कानुन बनाउनुपर्ने बताए ।
सांसद यज्ञ बहादुर थापाले यो सांकेतिक प्रचार भएकाले संविधानका सबै राम्रा कुराहरु समेत अभियानबाट बताउन नसक्ने उल्लेख गरे । ‘अब कार्यान्वयन पक्षमा एक हुनुपर्छ जसरी संविधान ल्याउन एक भयौं ।’ थापाले भने– ‘संविधानको कार्यान्वयन र भुकम्प पछिको पुनर्निमाणका सवालमा काँग्रेसले जिम्मेवार प्रतिपक्षिको भुमिका निर्वाह गर्दछ ।’
अर्का सांसद शारदा पौडेलले मुलुकलाई जोगाउन कुनै शर्त सम्झौता नगर्न उपप्रधानमन्त्री थापालाई ध्यानाकर्षण गराउँदै असहज परिस्थितिमा पनि नेपाली जनताको यो धैर्यताको प्रशंसा गरिन् । उनले अंगीकृत नागरिकताधारीले मधेशका सोझा जनता उचालिएको भन्दै दशगजा आन्दोलनले समस्या समाधान नगर्ने बताईन् । सांसद सीता गिरी वलीले विविधतायुक्त मुलुकको संरक्षण गर्दै समृद्ध, समुन्नत नेपालको परिकल्पना गरेको यो संविधान विश्वकै उत्कृष्ट संविधान भएको उल्लेख गरिन् ।
राप्रपा नेपालका महामन्त्री धवल शमशेर राणाले संविधान अपरिवर्तनीय नभएकाले सबैको माग विस्तारै पुरा हुँदै जाने बताए । एमाओवादी कास्कीका अध्यक्ष दीपक कोईरालाले यो पुस्ताले राजनीतिक उथुलपुथलता, भुकम्प, नाकाबन्दी जस्तौ धेरै प्रकारका जटिलता भोगेको चर्चा गर्दै संविधानको व्याख्या भन्दा कार्यान्वयन तर्फ ध्यान दिन आग्रह गरे । सो अवसरमा बार एशोसियसनका अध्यक्ष सोमबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली लगायतले बोलेका थिए । कास्कीका स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए भने मन क्षेत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
