
काठमाडौँ, २१ पुस-
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले डा. बाबुराम भट्टराईलाई पार्टीको नेतृत्व दिने प्रक्रिया सुरु भएकै समयमा पार्टी परित्याग गरेर नेपाली जनता, पार्टी र आन्दोलनलाई धोका दिएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घको केन्द्रीय कार्यालयको विस्तारित बैठकलाई आज आफ्नै निवास लाजिम्पाटमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संविधान बन्न नदिएर मुलुकलाई अस्तव्यस्त बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्न सफल भएका राजनीतिक दल पुनः आन्तरिक समस्या समाधान गर्न सफल हुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताविरुद्ध हुने कुनै पनि गतिविधि आफूहरुलाई सह्य नभएको बताए ।
अघिल्लो संविधानसभाबाट संविधान बन्न नदिन कम्मर कसेर लागेकाहरु दोस्रो संविधानसभालाई समेत असफल बनाउन लागि परे पनि उनीहरुको सपना पूरा नभएको भन्दै अध्यक्ष दाहालले नेपालको आन्तरिक विषय आन्तरिकरुपमा नै समाधान हुने भएकाले कोही कसैले चासो राख्नु आवश्यक नभएको स्पष्ट पारे ।
संविधानसभाबाट संविधान बन्नु आफूहरुले दश वर्षसम्म सञ्चालन गरेको जनयुद्धको समेत एक हिसाबले सफलता नै भएको भन्दै अध्यक्ष दाहालले कमजोरी भएका केही विषयलाई आगामी दिनमा क्रमशः संशोधन गरेर समृद्ध बनाइने उल्लेख गरे ।
