
काठमाडौँ, २१ पुस-
मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन अङ्ग प्राप्त गर्न सकिने नातेदारको सूचीलाई फराकिलो तुल्याउँदै विधेयकलाई अन्तिमरुप दिने तयारी भइरहेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निधेष) ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकमा मानव प्रत्यारोपणलाई सरल र सहज बनाउन नाताको परिभाषाको दायरालाई फराकिलो तुल्याउन सहमति जनाएको हो ।
मानव अङ्ग ग्रहण गर्न सकिने परिवारको सदस्यको सूचीमा पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबुआमा, सौतेनी बाबुआमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी काका, काकी, भतिजा, भतिजी, सासू, ससुरा, जेठानी, देउरानी, नन्द, भाउजू र बुहारीलाई समेटिएको छ ।
नजिकका नातेदारको रुपमा रहने मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फूपु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाइँ र जेठानबाट पनि मानव अङ्ग ग्रहण गर्न सकिने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।
यसको दायरालाई अझै फराकिलो पार्न आवश्यक रहेको भनी समितिका सदस्यले संशोधनसमेत पेस गर्नुभएको छ । एकै परिवारका व्यक्तिमा रगतको समूह नमिलेको खण्डमा भिन्न दुई परिवारका व्यक्ति मिर्गाैलाको समस्या भोगिरहेको अवस्थामा एकापसमा आदानप्रदान गर्न सकिने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ ।
मिर्गाैला प्रत्यारोपण कार्यमा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले ठूलो उपलब्धि हासिल गरेको निष्कर्षसहित केन्द्रको प्रस्तावमुताविक समितिले सवारी दुर्घटनालगायतका घटनामा परेर मस्तिष्क मृत्यु भइसकेका व्यक्तिबाट मिर्गौला लिन सकिने प्रावधान राखेर विधेयकलाई अन्तिमरुप दिन लागेको हो ।
