
काठमाडौं, २१ पुस-
मधेसी मोर्चाले प्रमुख तीन दलको कार्यदलसँग छलफल गरी सहमति जुटाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
तमलोपको कार्यलय बिजुलीबजारमा बसेको मोर्चाको मंगलबारको बैठकले कार्यदल चयन गरेर नाम पठाउने निर्णय गरेको हो । मोर्चाले बनाएको कार्यदलमा तमलोपका हृदयेश त्रिपाठी, संघीय समाजवादीका राजेन्द्र श्रेष्ठ र तमसपका रामनरेश यादव छन् ।
मोर्चाको एउटा घटक सद्भावना पार्टीका प्रतिनिधि कार्यदलमा छैनन् । सद्भावना मोर्चाको बैठकमा सहभागी छैन । सद्भावनाले विराटनगर नाकामा आफ्ना अध्यक्ष राजेन्द्र महतोमाथि भएको आक्रमणमा सरकारले माफी नमागेसम्म कुनै पनि वार्ता नगर्ने निर्णय गरेको छ र आन्दोलनका अलग्गै कार्यक्रम पनि घोषणा गरेको छ ।
मोर्चा र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच आइतबार बेलुका बालुवाटारमा भएको वार्तामा कार्यदल बनाएर सहमति जुटाउन प्रयास गर्ने सहमति भएको थियो । त्यही समझदारीअनुसार तीन दलले पनि मोर्चासँगको वार्तालाई निश्कर्षमा पुर्याउन तीन सदस्यीय कार्यदल गठन गरिसकेको छ । कार्यदलमा कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेका भीम रावल र एमाओवादीका नारायणकाजी श्रेष्ठ छन् । अब दुवै कार्यदलबीच वार्ता अघि बढ्ने छ ।
