
२४ पुस, काठमाडौं-
प्रधानमन्त्री केपी शर्मा ओलीले घरको चुला-चुलामा ग्यासको पाइप जोडिदिने दाबी गरेका छन् ।
भारतीय नाकाबन्दीका बेला जनतालाई ग्यास दिन नसकेर दाउरा बेचिरहेको सरकारका प्रधानमन्त्रीले घरको चुला-चुलामा ग्यासको पाइप जोड्ने दाबी गरेका हुन् ।
शुक्रबार राजधानीमा एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने-‘ग्यासका सिलिण्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिड्नु पर्दैन सिलिण्डरको फेज (युग) नै समाप्त गरिदिन्छु ।’ उनले अघि भने-घरघरमा, चुलाचुलामा पाइप पुर्याइदिन्छु । पिटिक्क खोल्दा सिलिण्डरबाट होइन, पाइपबाट आउँछ ग्यास ।’
प्रधानमन्त्रीले निकै महत्वकाक्षी घोषणा गरिरहँदा हलमा रहेका एमाले कार्यकर्तालेे ताली बजाए र हाँसाको फोहोरा छुट्यो ।
ओलीले झन हौसिएर भने-ग्यासको बुटेल आयो कि आएन ? सिलिण्डर पायो कि पाएन ? कुन सिलिण्डर कता ? यो सब झमेला नै भएन । एउटा मिटर टाँसिदिने भित्तामा, जति बाल्नुहुन्छ बाल्नुस् ।’
उनले यो कुरा सुनेर केहीलाई पिर पर्ने बताए । प्रधानमन्त्री ओलीले अब राजधानीमा भुरुरु धुँवा छोड्ने डिजेलको बस होइन, इलेक्ट्रिक बस चलाउने बताए ।’
उनले फोहोरबाट ग्यास निकाल्ने, हावाबाट विजुली निकाल्ने र एक वर्षभित्र लोडसेडिङ अन्य गरेरै छाड्ने समेत बताए ।
