
पुस २५
वैज्ञानिकले बालबालिकाको फोक्सो तथा श्वासप्रश्वास नलिमा संक्रमण गर्ने भाइरस विरुद्धको खोप विकास गरेका छन् । चिलीका अनुसन्धानकर्ताले रेस्पिरेटरी सिगंसल भाइरस आरएसभी विरुद्धको खोप विकास गरेका हुन् ।
आरएसभी भाइरसका कारण मुख्य गरी बालबालिकाको फोक्सो तथा श्वासप्रश्वास नलिमा संक्रमण हुने गरेको छ । अबको चारदेखि पाँच वर्ष भित्रमा आरएसभी विरुद्धको खोप बजारमा ल्याउन सकिने अनुसन्धानकर्ताले दाबी गरेका छन् । डा. एलेक्सिस कालेर्गिस नेतृत्वको टोलीले १० वर्षको अनुसन्धानपछि खोपको विकास गरेको हो । आरएसभीका कारण विश्वभर हरेक वर्ष हजारौंं बालबालिकाको ज्यान जाने तथा धेरै बालबालिका बिरामी पर्ने गरेका छन् । यो भाइरसका कारण दुई वर्ष भित्रका बालबालिका बढी प्रभावित हुने गरेको चिकित्सकले बताएका छन् । जाडोको समयमा आरएसभी भाइरस बढी सक्रिय हुने र यसले महामारीको रुप लिने गरेको छ ।
पशुमा गरिएको परीक्षणमा खोप प्रभावकारी देखिएको र अब मानिसमा यसको परीक्षण सुरु गर्ने तयारी भएको अनुसन्धानकर्ता डा. कालेर्गिसले बताउनुभयो ।
