सरकारलाई विकास समितिले दियो ९ बुँदे निर्देशन

Share:

पुस २६ , काठमाडौं-
संसदको विकास समितिले भूकम्प प्रभावितहरुको राहत र पुनःस्थापनाका लागि तत्काल काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले भूकम्प प्रभावितहरु हिमपात र कठ्याङ्ग्रिदो चिसोले प्रभावित भइरहँदा पनि सरकार गम्भीर नभएको आरोप लगाउँदै राहत, पुनर्निर्माण र पुनःस्थापनाका कार्यहरु तीब्र गतिमा सुरु गर्न निर्देशन दिएको हो ।

समितिले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री शक्ति बस्नेत, सहरी विकास राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका सचिव लगायतसँग छलफल गरी ९ बुँदे निर्देशन जारी गरेको छ ।

भूकम्प प्रभावितहरुले पाएको पीडालाई बेवास्ता नगर्न तथा उनीहरुमा आशा टुट्न नदिने गरी पुनर्निर्माणको काम गर्न निर्देश गरेको छ ।

समितिले भूकम्प प्रभावितहरुलाई घर बनाउन दिने भनिएको अनुदान तथा ऋण रकम सरल रुपमा जतिसक्दो छिटो उपलब्ध गराउन पनि सरकारलाई भनेको छ ।

सरकारले भूकम्प प्रभावितहरुलाई प्रतिपरिवार २ लाख रुपैयाँका दरले अनुदान रकम दिने कार्यबिधि गत मंसिर ११ गते नै स्वीकृत गरेको थियो । कार्यबिधि स्वीकृत भएको डेढ महिना वित्दा पनि प्रभावितहरुले अनुदान रकम पाउन सकेका छैनन् । यसले गर्दा जस्ताको टहरा र पालमा बस्न बाध्य भूकम्प प्रभावितहरुले घर बनाउने काम सुरु गर्न सकेका छैनन् ।

कमेन्ट गर्नुहोस्
Share: