माघेसंक्रान्तिको अवसरमा तीन दिने रुपाकोट मेला

Share:

रञ्जन अधिकारी पोखरा, २६ पुस / कास्कीको पर्यटकीय गाउँ रुपाकोटमा माघेसंक्रान्तिको अवसरमा यस वर्ष पनि रुपाकोट मेला लाग्ने भएको छ । रुपाकोट १ स्थित ध्रुबतारा क्लब, भिरचोकको आयोजनामा यस वर्ष पुस २९ देखि माघ १ गतेसम्म मेला लाग्ने भएको क्लबले जानकारी दिएको छ । २०५६ सालदेखि माघेसंक्रान्ति मेला गर्दै आएको क्लबले २०६० देखि भिरचोक मेला, २०६५ सालदेखि रुपाकोट मेला र महोत्सव नाम दिएर माघेसंक्रान्तिका अवसरमा मेला सञ्चालन गर्दै आएको हो ।

पोखरामा आईतबार पत्रकार सम्मेलन गर्दै क्लबले मेलाको तयारीलाई तीब्रता दिएको जनाएको छ । मेला सम्पन्न गर्न अध्यक्ष प्रेम कुमार खड्काको संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समिति, क्लबका सल्लाहकार अध्यक्ष बलराम गुरुङको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । यस्तै, मोहम्मद मोहसिन मियाँको संयोजकत्वमा आर्थिक संकलन उपसमिति, कुमार गुरुङको संयोजकत्वमा मेला स्थल तयारी उपसमिति, मदन गुरुङको संयोजकत्वमा खेलकुद उपसमिति र धनप्रसाद गुरुङको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम उपसमिति गठन गरिएको क्लबले जनाएको छ ।

मेलामा तीन लाख ९५ हजार आम्दानी तथा सोहि बराबरको खर्च हुने अध्यक्ष खड्काले बताए । उनका अनुसार विगतका वर्षहरुमा गरिँदै आएको मेलालाई निरन्तरता दिँदै स्थानीय कला संस्कृतिको संरक्षण एवं समग्र रुपाकोट गाविसको वृहत्तर विकासका निम्ति मेला आयोजना गरिएको हो । ‘रुपाकोटमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै रमाईलोका लागि मेला आयोजना गर्दै आएका हौं ।’ उनले भने– ‘यस वर्ष अझ परिस्कृत र व्यापक रुपमा गर्न गईरहेका छौं ।’

मेलाका अवसरमा विभिन्न खेलकुत प्रतियोगिताका साथै मनोरञ्जनात्मक सांस्कृतिक एवं लोकदोहोरी कार्यक्रम, ख्यातिप्राप्त राष्ट्रिय एवं स्थानीय स्तरका कलाकारहरुको विशेष प्रस्तुति, लोपोन्मुख नृत्य प्रदर्शनी हुनेछन् । मेलामा ११ औं ध्रुबतारा भलिबल प्रतियोगिता, एकल एवं सामुहिक नृत्य प्रतियोगिता, प्रा.वि. स्तरीय हाजिरीजवाफ प्रतियोगिता, महिला विशेष रमाइलो कार्यक्रम, विभिन्न सहकार्य संस्थाहरुको झाँकी र नृत्य, क्लबको १६ औं वार्षिकोत्सव विशेष कार्यक्रहरु रहने क्लबका सचिव त्रिविक्रम केसीले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुने मेलालाई भिरचोक आमा समुह, ध्रूबतारा क्लब दुबई र रुपाकोट गाविसले विशेष सहयोग गरेका छन् । भिरचोक इस्टमित्र सहयोग कोष पोखरा, चन्द्रप्रभा उच्च मावि र वेस्टन भिलेज एकेडेमीले पनि सहकार्य गरेको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: