गायक बिनोद बानियाको थपिएको ‘प्रोफाइल’

Share:

रञ्जन अधिकारी पोखरा, २७ पुस /

‘मलाई लाग्दैन,

बिनोदलाई मन पराउनेले संगीतलाई मन नपराएको होस्;

मलाई लाग्दैन,

संगीतलाई मन पराउनेले बिनोदलाई मन नपराएको होस्;

अनि मलाई यो पनि लाग्दैन;

पोखरालाई मन पराउनेले विनोदलाई मन नपराएको होस् ।

बिनोद, संगीत र पोखरा एक अर्काको परिपुरक बनिसकेको छ ।’

खचाखच भरिएको हलबीच सञ्चारकर्मी सञ्जय मल्लले यही हरफहरुबाट पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा कार्यक्रमको शुभारम्भ गरे । सोमबार अपरान्ह आयोजित कार्यक्रम थियो गायक बिनोद बानियाको तेस्रो एल्बम ‘प्रोफाइल’ को लोकार्पण । गायक बानियालाई नौ वर्षपछि आफ्ना शुभेच्छुक श्रोताबीच जोड्ने काम ग¥यो पोखरेली युवा सांंस्कृतिक परिवारले । उसो त गायक बानिया परिवारका संगीत विभागका सल्लाहकार पनि हुन् । ‘साहित्य, कला र संगीतको उत्थान हाम्रो प्रण’ मुल मन्त्रका साथ चार दशकदेखि क्रियाशील परिवार यो पटक संगीत क्षेत्रतर्फ जुटेको हो । परिवारका अध्यक्ष सुरेश रानाभाटले सहभागीलाई स्वागत गर्दै थपिहाले ‘संगीतमा आफ्नो प्रोफाईल उच्च बनाउन लागिपरेका बिनोदको प्रोफाईल यो एल्बमले अझै उच्च हुनेछ । पोखरा र पोखरेलीका लागि उनको नाम नै काफी छ ।’

Profile

त्यसपछि, स्रष्टा परिचयका लागि उभिएका ¥याण्डम रिडर्स सोसाईटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेलले तीन सन्तानका पिताका रुपमा बिनोदलाई चिनाउँदा सहभागी अचम्मित भए । ‘बिनोद तीन सन्तानका पिता हुन् । २०५८ सालमा मान्छे, २०६३ मा डाउट जन्माएका बिनोदले अहिले प्रोफाईलको न्वारान गर्दैछन् ।’ पौडेलले यति भन्दाभन्दै हल गड्गडाहट तालीले गुञ्जियो । पौडेलले थपे– ‘पहिलो सन्तान आउँदा राजदरबार हत्याकाण्ड भयो, दोस्रो पटकमा जनआन्दोलन । यसपटक चाहिँ नाकाबन्दीले असर पर्दैन, हामी सबैको साथ छ ।’ युवा उद्यमी, संगीत प्रशिक्षक भएर पोखरामै संगीत क्षेत्रमा कर्म गर्दै अघि बढेका बिनोद बानिया अग्रजलाई सम्मान र अनुजलाई सद्भाव गरेकै कारण यो स्थानमा आएको चर्चा गरे । गायन रियालिटी शो बिग आईकनका परिकल्पनाकार गायक विनोद स्वयं बिग एफएमका संस्थापक निर्देशक समेत हुन्।

एल्बमको समिक्षा गर्ने जिम्मा पाएका गायक कर्णदासले लामो समय लिएरै बानियाको खुलेरै प्रशंसा गरे । ‘पहिलो गीत कस्तो मान्छेसँग तिमी… देखि लिएर अन्तिम अर्थात सातौं गीतसम्म कथा बनेको छ, केस्रा केस्रा मिलेर ।’ कर्णदासले थपे– ‘यो एल्बम शब्द, संगीत र स्वर हरेक कोणबाट उत्कृष्ट बनेको छ ।’ उनले एउटा हरि लम्सालको बाहेक सबै गीतमा आफ्नै संगीत समावेश गर्नुभन्दा केहि संगीतकारसँग सहकार्य गरेको भए अझै राम्रो हुन्थ्यो कि भन्दै सुझाव समेत दिन भ्याए । गीत निकाल्ने अवस्था अहिले नभएको र आफु पनि डराईरहेको उल्लेख गर्दै कर्णदासले सफलताको कामना व्यक्त गरे ।

त्यसपछि, गायक बानियाले आफ्नी आमा शान्ति बानियासँगै संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, नेपाली सेना पश्चिम पृतना हेर्डक्वार्टरका उपरथी रमेश पुनलाई साक्षी राखेर प्रमुख अतिथि अग्रज गायक दीप श्रेष्ठको हातबाट एल्बम ‘प्रोफाइल’ को विमोचन गराए । प्रोफाइल एल्बमको अडियो सिडी, कभर टाँसिएको बोर्डको फ्रेमभित्र हस्ताक्षर गरी श्रेष्ठले गायक बानियालाई हस्तान्तरण गरे । सो अवसरमा गौरी शंकर उच्च माविमा रहँदा पहिलो पटक मादल छुन सिकाउने लता सापकोटा र गिटारलाई स्पर्श गर्न दिने कृष्ण बहादुर कुँवरलाई सम्मान गरियो । एल्बममा समावेश ‘कस्तो मान्छेसँग तिम्रो…’ शीर्षकको गीतको भिडियो समेत देखाईयो ।

20160111_163427

परिवारकी सल्लाहकार कवि सरस्वती प्रतीक्षाले डेढ दशक अघि सुनेको बिनोद बानिया आज यो स्थानमा आएको देख्दा खुशी प्रकट गर्दै खुबी अनुसार अझै माथि जान नसकेको हो कि ? भन्ने आफ्नो जिज्ञाशा खुलस्त प्रकट गरिन् । शब्दमा ‘चुजी’ बन्न सुझाव दिईन् । पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले आज विनोद बानियाँको परिचय उद्यमी, शिक्षक समेत बन्नुमा संगीत क्षेत्रका लागि जन्मेको प्रतिभालाई हामीले साथ दिन नसकेकै परिणाम भएकाले यसका प्रति आफुलाई चित्त नबुझेको बताए ।

विशेष अतिथि तीर्थ श्रेष्ठले देशको दुर्भाग्य नै राजधानीबादसँग जोडिनु रहेको उल्लेख गर्दै राजधानीवादको किल्ला भत्काउने अभियानमा विनोदको योगदानको उच्च प्रशंसा गरे । ‘आफ्नै आलोकले उज्यालिनु भन्दा ठुलो कुरो केहि हुँदैन । बिनोद आफ्नै साधना, लगन र सामाथ्र्यको आलोकले उज्यालिनेछन्’֪ श्रेष्ठले थपे– ‘र त्यही उज्यालो खोज्दै मान्छेहरु विनोदसम्म आउँछन्, म त्यो दिन छिटो आओस् भन्ने प्रार्थना गर्दछु ।’

अग्रज गायक दीप श्रेष्ठले पोखराको चिसोको बयान गर्दै प्रमुख अतिथिय मन्तव्य सुरु गरे । कार्यक्रममा वक्ताले बिनोद पोखरा छाड्न नसकेर राजधानी नपुग्दा केहि ओझलेमा परेको चर्चा गरिरहँदा श्रेष्ठलाई चित्त बुझेन क्यारे अघि थपिहाले – ‘सानै ठाउँबाट मानिस ठुलो ठाउँमा पुग्ने हो । सानै ठाउँबाट आफ्नो प्रतिभाहरु प्रदर्शन गर्ने हो । आफ्नै घरबाट आफ्नै आगनबाट माया हुनुपर्छ ।’ उनले धर्मराज थापा, भुपी शेरचन, सरोज गोपाल, बाबा राणा, ज्ञानु राणा, कर्णदासको चर्चा गर्दै प्रतिभाहरुलाई एकदिन सबैले चिन्ने उल्लेख गरे ।

बानियँले आफ्नो मेलोडी क्याफेका सांगीतिक सहकर्मीको साथमा ‘कस्तो मान्छेसँग तिम्रा’, ‘प्यास ट¥यो’, ‘तिमी हाँसिरहे’ गरी तीन गीत समेत प्रत्यक्ष प्रस्तुत गरे । कार्यक्रम समाप्तिपछि बिनोद शुभकामना लिन भ्याई नभ्याई देखिन्थे । सहभागीको शुभेच्छा थियो ‘पोखरालाई माया गर्ने बिनोदलाई सबै पोखरेलीको माया मिलोस् । उँचो प्रोफाईलका बानियाको यस एल्बमले प्रोफाईल झनै उँचो बनोस् ।’

कमेन्ट गर्नुहोस्
Share: