‘प्रदेशको संख्या बढाउने होईन बरु पाँच प्रदेशमा झारौं’– झलनाथ खनाल

Share:

पोखरा, २८ पुस-
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संघीयताको सीमांकनमा कुनै परिवर्तन नहुने बताएका छन् । पोखरामा आज बिहान प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले संविधानमा उल्लेखित संघीयता माछापुच्छ«े झैं अडिग भएकाले त्यसलाई अब परिवर्तन गर्न नमिल्ने बताएका हुन् । अहिलेको सीमांकनमा परिवर्तन गर्ने हो भने बरु ५ प्रदेश नै ठीक भएको खनालले बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले संघीयताको संरचना अब बढाउने नभई सकेसम्म घटाउनुपर्ने धारणा राखे । उनले वर्तमान सरकारको खुलेरै आलोचना समेत गरे । सरकार उत्तरतर्फका नाका खोल्न असफल भैसकेको उनको टिप्पणी थियो । ‘सरकार चीनसँगका नाका खोल्न असफल भैसकेको छ ।’ उनले भने– ‘सहजता हुँदाहुँदै पनि किन सरकारले नाका खोल्न सकेन । त्यो थाहा पाउन सकिएन ।’ खनालले तराईमा बिशेष सुरक्षा योजना लागू गर्न पनि सरकार असफल भएको बताए ।

प्रधानमन्त्री ओलीले हावाबाट बिजुली निकाल्छु र घरघरमा ग्याँस पाइपलाइन जोड्छु भनेर भाषण गरेपनि तत्काल नेपालमा यो सम्भव नभएको उनको भनाई थियो । प्रधानमन्त्री ओलीसँग तत्काल गर्न नसकिने कुरा नगर्न पनि खनालले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: