
नवराज ढुङ्गाना
पोखरा, २८ पुस-
पोखरामा यही पुस ३० गतेदेखि हुने छैठौं पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक यूनाइटेड क्लवले आज महोत्सवस्थल अमरसिंहचौरमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पूरा भएको जनाएको हो ।
कास्कीमा चिडियाखाना निर्माणदेखि सेती नदी संरक्षण जस्ता उद्धेश्यसहित विगत ६ बर्षदेखि महोत्सव आयोजना गर्दै आएको क्लवले यसपटक पनि महोत्सवबाट बचत रकम विभिन्न सामाजीक कार्यमा लगाउने भएको छ ।
आगामी माघ १० गतेसम्म चल्ने महोत्सवबाट हुने कुल् आम्दानीको २० प्रतिशत रकम चिडियाखाना निर्माणका लागि छुट्याइने र प्रत्येक व्यक्तिले लिने टिकटबाट एक रुपैयाँ छुट्याई सेती नदी संरक्षणमा सहयोग पुर्याउने क्लवमा अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।
बृहत् पोखराको अवधारणा अनुसार क्लवले पोखराको नयाँ पर्यटकीय आकर्षणका रुपमा लेखनाथको ११, १२, र १४ नम्बर वडामा रहेका पचभैया, चैनपुर र चाँपापानी चिसाकुना सामुदायिक वनलाई समेटेर चिडियाखाना निर्माणका लागि काम सुरु गरिसकेको उनले बताए ।
महोत्सवमा विभिन्न संस्कृतिको प्रदर्शनसहित यसपटक एकल नृत्य प्रतियोगिता समेत सञ्चालन हुनेछ । यस्तै, दोस्रो खुल्ला एकल नृत्य प्रतियोगिता पोखरा तारा–२ पनि सञ्चालन हुनेछ । नेपाली संस्कृतिलाई उजागर गर्दै नयाँ प्रतिभाको खोजी गर्न प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक सुरज थापा मगरले बताए ।
विशुद्ध नेपाली संस्कृति र आधुनिक ढङ्गको नृत्य हुनुपर्ने सो प्रतियोगिताको प्रथम हुनेलाई पोखराको तारा उपाधिसहित रु ५० हजार नगद र म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिने छ । द्वितीय हुनेलाई २५ हजार रुपैयाँ र म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिने तथा तेस्रो हुनेलाई रु पाँच हजार प्रदान गरिनेछ ।
कूल २ सय २० वटा स्टल रहने महोत्सवबाट ९१ लाख ८० हजार रुपैयाँ आम्दानी भई ६१ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । साधारण टिकटका लागि ६० रुपैयाँ र विद्यार्थीका लागि ४० रुपैयाँ तोकिएको छ ।
महोत्सवको पुस ३० गते गृहमन्त्री शक्ति बहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम छ ।
