
रञ्जन अधिकारी पोखरा, २९ पुस / पोखरामा माघ तेस्रो साता विश्वशान्ति पूजा हुने भएको छ । १३ वर्षपछि वृहत रुपमा हुन लागेको विश्वशान्ति पूजा माघ १९ देखि २१ गतेसम्म घारीपाटन स्थित पर्वतीय संग्रहालय हाताभित्र आयोजना हुने आयोजकले जानकारी दिएको छ ।
‘भुकम्प पछि धार्मिक तथा सांस्कृतिक माध्यमबाट पर्यटनको पुनत्र्थान’ नाराका साथ नेपाल पर्वतारोहण संघको आयोजना तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको सहकार्यमा तीन दिनसम्म चल्ने पूजाको मुख्य उद्देश्य प्राकृतिक विपद्मा परी मृत्यु वरण गरेकाहरुको आत्माको शान्ति शुद्धि गर्नु रहेको आयोजकले जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरी आयोजकले पूजा सम्पन्न गर्न कुल ४५ लाख लागत अनुमान गरिएको र सो पूजामा देश तथा विदेशबाट २० हजार बढि धर्मावलम्वीहरु पोखरा आउने अपेक्षा गरिएको जानकारी दियो ।
मुल समारोह समितिका अध्यक्ष एवं संघकी प्रमुख सल्लाहकार याङ्किला शेर्पाले भुकम्प तथा हिमपहिरोमा परी ज्यान गएकाहरुको आत्माको शान्तिका साथै धार्मिक अनुष्ठान मार्फत मुलुकमा सामाजिक सद्भावको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००४ पछि अहिले पोखरामा विश्व शान्ति पूजा आयोजना गरिएको बताईन् । पूर्व पर्यटन राज्यमन्त्री समेत रहेकी शेर्पाले धार्मिक पर्यटनको प्रवद्र्धन मार्फत पर्यटन उद्योगको पुर्नउत्थान गर्ने, जीर्ण पर्यटन उद्योगलाई उकास्न आवश्यक रणनीति, कार्यक्रम आदिबाट सरकारलाई आवश्यक गाईडलाईन तयार पार्न सहयोग गर्ने उद्देश्य रहेको जनाईन् । उनका अनुसार बौद्धिक परम्परा अनुसार पूजा हुने भएपनि सबै धर्मावलम्बीको आगमन हुने बताईन् ।
साक्य ठिजिन रिन्पोछेको समुपस्थितिमा हुने पूजाको पहिलो दिन माघ १९ गते धार्मिक तथा सांस्कृतिक माध्यमबाट पर्यटनको पुनत्र्थान विषयक गोष्ठी आयोजना हुनेछ । दोस्रो दिन कुन्रीस्ग ज्याच्योक र तेन्ग्यूर पूजा हुनेछ भने अन्तिम दिन मेन्डल कुसुम अर्पण तथा श्रद्धालु भक्तजनका लागि त्रिुकलनाथ अभिषेक (रिक्सुम गोम्बु वाङ) प्रदान गरिनेछ ।
नेपाल पर्वतरोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले विश्वको प्राणी जगतको कल्याण, सुख समृद्धि एवं भाइचारा कायम गर्ने उद्देश्य सहित आयोजना गरिएको विश्व शान्ति पूजालाई विगतमा जस्तै सहयोग गर्न सबै पोखरेलीलाई आग्रह गरे । देशविदेशबाट धर्मावलम्वीको आगमनले यहाँको होटल तथा पर्यटन व्यवसायमा सघाउन पुग्ने उनले बताए ।
मुल समारोह समितिका उपाध्यक्ष हरिध्वज तुलाचनले पूजा सम्पन्न गर्न यहाँका विभिन्न धार्मिक एवं जातिय संघसंस्था, होटल तथा पर्यटन व्यवसायीहरुसँग छलफल गरिएको जनाए । आर्थिक संयोजक जिम्बाजंग्बु शेर्पाले सबैको धेरथोर आर्थिक सहयोग संकलनमा पूजा सम्पन्न गर्न लागिएको बताए । संघका सदस्य तथा मुल समारोह समितिका महासचिव भुमि लामाले पोखरामा दुई सय बढि लामा गुरुहरु उपस्थित हुने जानकारी दिए ।
