
रञ्जन अधिकारी पोखरा, १ माघ / लायन्स क्लब अफ पोखरा गण्डकीले विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई वार्षिक रुपमा प्रदान गर्दै आएको छात्रवृत्ति विहीबार वितरण गरेको छ । महिलाहरु मात्र आबद्ध क्लबले पोखरामा एक कार्यक्रमको आयोजना गरी छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरेको हो । क्लबले सन् २००९ देखि नै छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ ।
क्लबमा आबद्ध सदस्य तथा शुभेच्छुकले करीब डेढ दर्जन विद्यार्थीलाई नर्सरीदेखि १० कक्षा सम्म निःशुल्क पढाउन छात्रवृत्ति प्रदान गर्दै आएको कार्यक्रम संयोजक दिलकुमारी शर्माले बताईन् । घार्मीको महेन्द्र माविका आठ, पोखराको सत्य साई विद्याश्रममा अध्ययनरत चार, पोखराको भद्रकाली उच्च माविमा अध्ययनरत तीन जना र एसओएसमा अध्ययन गर्ने तीन जना छात्रछात्रालाई कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ३२५ बी १ का डिष्ट्रिक्ट गभर्नर ध्रुबबहादुर थापा लगायतले छात्रवृत्ति प्रदान गरे ।
चाँदनी ताङ्वे, रोशनी शर्मा, विष्णु भण्डारी, सीता पाण्डे, संगीता मल्ल, सुरेखा वैद्य, निर्मला श्रेष्ठ, सवि श्रेष्ठ, कोकी मल्ल, विमला श्रेष्ठ, पुजन शाक्य, मीना लाभाजु, सौमाया भट्टराई, शोभा भट्टराईलगायतले यी बालबालिकालाई कक्षा १० सम्म पढाउन आर्थिक सहयोग गरेका छन् । कार्यक्रममा लक्ष्मी रेग्मीले एसओसका तीन जनालाई पढाउने घोषणा गरिन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले क्लबले सामाजिक उत्तरदायित्व वहन गर्दै गरीब तथा आर्थिक रुपमा विपन्न रहेका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु प्रशंसनीय कार्य भएको बताए । उनले देश विदेशमा रहेर पनि शिक्षाबाट विमुख हुने अवस्थामा पुगेका बालबालिकाको पढाईतर्फ चिन्ता व्यक्त गर्ने सबै छात्रवृत्तिदाताहरुलाई धन्यवाद दिए ।
कार्यक्रममा पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन प्रेमबहादुर श्रेष्ठ, सेकेण्ड भीडीजी धनराज आचार्य, पास्ट डिस्ट्रिक्ट कोओर्डिनेटर पीएमजेफ योगेन्द्र प्रधान, एमजेएफ तीर्थलाल श्रेष्ठ लगायतले सेवा भावनाले ओतप्रोत भएर समाजको हितमा लागिपर्नु निकै सराहनीय भएको भन्दै क्लबको प्रशंसा गरे ।
महेन्द्र मावि, घार्मीका प्रधानाध्यापक बासुदेव पौडेलले विद्यालयमा छात्रवृत्ति प्रदान गरेर विद्यार्थीलाई हौसला, जोश जाँगर मिलेको भन्दै यसले विद्यार्थीको शैक्षिक स्तर सुध्रेको बताए । उनले भुकम्पबाट क्षतिग्रस्त बनेको दुई कोठा आर्थिक अभावमा बन्न नसकेकाले सहयोगी मनहरुले सहयोग गर्नसक्ने पनि बताए ।
क्लबकी अध्यक्ष सीता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दिलकुमारी शर्माले स्वागत तथा कार्यक्रमबारे प्रकाश पारेकी थिईन् । कार्यक्रमको सञ्चालन सचिव मोना थापाले गरेकी थिईन् ।
