
रञ्जन अधिकारी पोखरा, ३ माघ / पोखरा रंगशालामा आउँदो माघ ५ गतेदेखि सञ्चालन हुने १४ औं आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७२ को तयारी पुरा भएको छ । ‘खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सञ्चालनका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक सहारा क्लब, पोखराले जानकारी दिएको हो ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउनको मुख्य प्रायोजन रहेकोे प्रतियोगितामा विजेता टीमले पाँच लाख एक हजार एक रुपैयाँ नगदका साथ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टीमले दुई लाख ५१ हजार एक रुपैयाँ नगद, कप, मेडल र प्रमाण पत्र पाउनेछ । गत संस्करणमा विजेताले तीन लाख ५१ हजार तथा उपविजेताले दुई लाख नगद पुरस्कार प्राप्त गरेका थिए । मोफसलको सर्वाधिक धनराशी भएको प्रतियोगितामा यसवर्षदेखि आहारारा गोल्डकप पनि परेको हो । विराट गोल्डकपमा पनि विजेताले पाँच लाख एक हजार रुपैंया प्राप्त गर्नेछ ।
क्लबका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक केशवबहादुर थापाका अनुसार यस वर्ष पनि १२ टीमको सहभागिता रहनेछ । आयोजक सहारा क्लबसँगै थ्री स्टार क्लब, मनाङ्ग मस्याँङ्गदी क्लब, नेपाल पुलिस, नेपाल आर्मी, सशस्त्रको एपीएफ, नव जनजागृति सिमरा, झापा ११, जावलाखेल युथ क्लब खेल्नेछन् । यस्तै विदेशी टिममा भारतबाट ईन्डियन आर्मी गोर्खा ब्रिगेड टीम र युनाईटेड सिक्किम एफ.सि. तथा बंगलादेशको रहमदगञ्ज एम एफ सोसाईटी, बंगलादेशको सहभागिता रहनेछ । प्रतियोगिताको कुल आम्दानी ९९ लाख ९२ हजार रुपैयाँ र कुल खर्च ७९ लाख ६२ हजार ३ सय अनुमान गरिएको थापाले जनाए ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । मंगलबार आयोजक सहाराले सिमराको नवजनजागृतिसँग उद्घाटन खेल खेल्नेछ । दोस्रो प्रिक्वार्टर फाईनलमा नेपालको एपीएफ र ईण्डियन आर्मी गोर्खा ब्रिगेडबीच खेल हुनेछ भने तेस्रो दिन माघ ७ गते आर्मीले जावलाखेलसँग प्रतिष्पर्धा गर्नेछ । अन्तिम प्रिक्वार्टर फाईनलमा माघ ८ गते पुलिस र झापा ११ बीच खेल हुनेछ । यस संस्करणमा सिजनल टिकट दर एक हजार तोकिएको छ । गेट टिकटतर्फ प्रि–क्वाटरका खेलहरुमा ५० रुपैंया, क्वार्टर फाईनलका चार र सेमिफाईनलका दुई खेलहरुमा एक सय तथा फाईनलमा एक सय ५० टिकट दर कायम गरिएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान हिरो ड्यास स्कुटर प्रदान गरिने छ । उत्कृष्ट ५ विधा बेष्ट किप्पर, बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट स्ट्राईकर, बेष्ट कोचले जनही १५ हजार रुपैंया नगद तथा शिल्ड, सर्वाधिक गोलकर्ताले २५ हजार तथा र फेयर प्ले टिमले १५ हजार प्राप्त गर्नेछ । सहभागी प्रत्येक क्लबलाई एक खेल खेले बापत अतिरिक्त प्रोत्साहन रकम दिने आयोजकले जनाएको छ । जस अनुसार प्रि–क्वार्टर विजेता टिमलाई १५ हजार, पराजित टिमलाई दश हजार, क्वाटर फाईनल विजेता टिमलाई २० हजार, पराजित १५ हजार, सेमिफाईनल विजेता र पराजित टीमलाई १५ हजार, सेमिफाईनल विजेता र पराजीत टीमलाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । फाईनलमा प्रवेश गर्ने टिमलाई प्रोत्साहन रकम उपलब्ध नगराईने क्लबले स्पट पारेको छ ।
क्लब अध्यक्ष वीरभद्र आचार्यले प्रतियोगता अवधिमा बिक्री भएको प्रति गेट टिकटबाट प्रतिटिक एक रुपैंया पोखरा रंङ्गशालाको फुटबल खेल मैदान पूर्वाधार निर्माण तथा मर्मत सम्भारको निम्ति छुट्टयाईने जानकारी दिए । यस्तै, एक लाख रुपैयाँ बराबरको चाउचाउ निःशुल्क गेट टिकटमा वितरण गरिने भएको छ । प्रतियोगिताको प्रत्येक दिन गोलप्रथाद्वारा एकजना दर्शकलाई पुरुस्कार स्वरुप माईक्रो म्याक्स मोबाईल प्रदान गरिनुका साथै प्रतियोगिता अवधिमा टिकट काटी अवलोकन गर्ने दर्शक मध्ये एक जनालाई गोलाप्रथाद्धारा एक तोला सुनको सिक्का र सि.जि.ईलेक्ट्रोनिक्स प्रा.लि. (चौधरी गु्रप) बाट एल जी टि.भी. समेत प्रदान गरिने आचार्यले जनाए ।
क्लबका महासचिव केशवराज बरालले प्रतियोगिता अवधिभर बन्द हडताल,चक्काजामको कार्यक्रम नराखिदिन राजनैतिक दल, भातृ संगठन, यातयात व्यवसायी लगायत सम्बन्धित सबैमा अनुरोध गरेका छन् । पोखरा लामाचौर निवासी हाल हङ्गकङ्गमा कार्यरत, वलिनी फिलिमका निर्माता देब गुरुङ्गबाट प्रतियोगिता सहयोगार्थ प्राप्त ५२ हजार रकम हस्तान्तरण गरियो ।
पत्रकार सम्मेलनमा पुर्व सभासद्, उद्योगपति एवं समाजसेवी सुर्यबहादुर केसीले सहारा क्लब जस्तो उद्देश्य लिएर हरेक जिल्लामा यस्ता क्लब स्थापना हुने हो भने मुलुकमा खेलकुदले गति लिने बताए । उनले नाकाबन्दी जस्तो विषम परिस्थितिमा पनि प्रतियोगिताले निरन्तरता पाएकोमा खुशी व्यक्त गरे ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले अहिले प्रतियोगिताकै कारण पोखरा आहा गोल्डकपमय भएको बताउँदै दोब्बर सहयोग गर्न तयार रहेको बताए । उनले पोखरालाई खेलकुदको राजधानी बनाउन आफुले सक्दो प्रयास गर्ने पनि उल्लेख गरे ।
