रेडक्रस विपद् व्यवस्थापन विभागको समिक्षा कार्यशाला

Share:

रञ्जन अधिकारी पोखरा, ३ माघ  / नेपाल रेडक्रस सोसाईटी, विपद् व्यवस्थापन विभागको वार्षिक समिक्षा तथा योजना कार्यशाला पोखरामा सुरु भएको छ । तीन दिनसम्म होटल पोखरा ग्राण्डमा चल्ने कार्यशालामा मुलुकका ४४ जिल्लामा सञ्चालित परियोजनामा विपद् व्यवस्थापन क्षेत्रमा कार्यरत डेढ सय जति स्वयंसेवीको सहभागिता छ । कार्यशालाको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष सञ्जीव थापाले उद्घाटन गरे ।

अध्यक्ष थापाले रेडक्रसले गरेको गतिविधिको समिक्षाका साथै मानविय विपत्ति तथा जोखिम न्युनिकरण गर्ने ठोस योजना बन्नेमा विश्वस्त रहेको बताए । उनले जिल्लामा कार्यरत रेडक्रसकर्मी सहयात्रीहरुको सुझावका आधारमा आगामी कार्ययोजना, रणनीति निर्माणका लागि कार्यशाला फलदायी हुने विश्वास पनि व्यक्त गरे । उनले नेपालमा ११ लाख बढि स्वयंसेवी र १५ सय हाराहारीमा रहेका सोसाईटी अन्तर्गतका निकायको सक्रियतामा मुलुकमा आईपरेका विपद् व्यवस्थापनमा चर्चालायक कार्य गर्न सकेको भन्दै सबैलाई धन्यवाद दिए ।

‘आज रेडक्रस हर दुःखमा स्मरण गरिने नाम बनेको छ । थापाले भने– ‘ यो भनेको संस्थागत रुपमा जितेको विश्वास हो । हामी देशव्यापी रुपमा आपत विपद्मा सहयोगी बनेर उभिएका छौं ।’ ठुलो भुकम्पका बेला अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गर्ने खालको काम नेपालमा रेडक्रसले गरेको भन्दै उनले राज्यको सहयोगी निकायका रुपमा सेवामा अघि बढिरहने प्रतिबद्धता पनि जनाए । अब काठमाण्डौंमा ठुलो गोदाम निर्माण गर्ने र बाँकी मुख्य शहर क्षेत्रमा सामाग्री भण्डारका लागि गोदाम स्थापना गर्नुपर्ने आवश्यकता देखिएकाले संस्थागत अभियान नै चलाएर चार वर्षभित्र योजना सम्पन्न गरिसक्ने उनले बताए ।

विशेष अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकरप्रसाद कोईरालाले राहत प्रदान, विपद् तथा संकट व्यवस्थापन क्षेत्रमा रेडक्रसले विश्वसनीय रुपमा अनुकरणीय कार्य गरेकोमा प्रशंसा गर्दै रेडक्रससँग सहकार्य, साझेदारी र समन्वय निरन्तर रहने उल्लेख गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सरकारको सहयोगीका रुपमा अघि बढेको रेडक्रसको साथको निरन्तरताको अपेक्षा गर्दै विपद् व्यवस्थापन, रक्त आपुर्ति लगायतमा पुरा गरेको भुमिकाको प्रशंसा गरे ।

कार्यक्रममा अध्यक्षता समेत गरेका राष्ट्रिय विपद् तथा संकट व्यवस्थापन समितिका सभापति मनोजकुमार थापाले भुकम्प प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन देखि राहत वितरणसम्मका कार्यमा अनवरत खटिरहेको जानकारी दिए ।

सो अवसरमा सोसाईटीका उपाध्यक्ष अजितकुमार शर्मा, पश्चिमाञ्चल क्षेत्रका केन्द्रिय उपाध्यक्ष सुदर्शनप्रसाद नेपाल, सोसाईटीका उपमहामन्त्री हरिप्रसाद न्यौपाने, कास्की शाखा सभापति वामदेव ढुंगाना, डेनिस रेडक्रसका मारियाना लिप्तुगा, साझेदार आईएफआरसीका सञ्जीव हाडा, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रतिनिधि शोभाकर अधिकारीले पनि बोलेका थिए ।

कार्यक्रमको उद्द्श्यमाथि विपद् व्यवस्थापन विभागका प्रमुख धर्मराज पाण्डेयले प्रष्ट पारेका थिए । सोसाईटीका कार्यकारी निर्देशक इन्द्रबहादुर केसीले स्वागत तथा भोजराज घिमिरे र सुभद्रा देवकोटाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कार्यशालामा आपतकालिन प्रतिकार्य सञ्चालन प्रमुख उमेशप्रसाद ढकालले विपद् पुर्नलाभ कार्यक्रम सम्बन्धमा जानकारी गराए । तीन दिनसम्म विभिन्न व्यक्तित्वले विपद् व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: