आहारारा गोल्डकप मंगलबारदेखि, उद्घाटन खेल सहारा र नवजनजागृति सिमराबीच, पूर्व कप्तान गणेश गुरुङलाई सम्मान

Share:

रञ्जन अधिकारी पोखरा, ४ माघ / पोखरा रंगशालामा मंगलबारदेखि यहाँको सबैभन्दा ठुलो प्रतियोगिता आहारारा गोल्डकप फुटलबको १४ औं संस्करण सुरु हुँदैछ । प्रतियोगिताको दिउँसो राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले उद्घाटन गर्नेछन् ।

तीन विदेशी सहित १२ टीमको सहभागिता रहेको प्रतियोगितामा पहिलो खेल आयोजक सहारा क्लबले सिमराको नवजनजागृति क्लबसँग खेल्दैछ । गत वर्ष पनि यही दुई टीम उद्घाटन खेलमा मैदान उत्रेका थिए । १३ औं संस्करणमा पहिलोपटक सहभागी नवजनजागृतिले १२ औं संस्करणको विजेता घरेलु टोलीलाई उद्घाटन खेलमै ३–३ गोलको बराबरीपछि टाईब्रेकरमा पराजित गरेको थियो ।

यसपटक दुवै टीममा युवा खेलाडीको जमात छ भने तीन जना नै विदेशी खेलाडी छन् । सहाराको प्रशिक्षकमा किरण श्रेष्ठ र नवजनजागृतिको प्रशिक्षकमा उमेश श्रेष्ठ रहेका छन् । दोस्रो पटक सहभागी नवजनजागृतिका टिम म्यानेजर शंकर थापाले गत वर्ष उद्घाटन खेलमा जीत हात पारेको र क्वार्टरफाईनलमा पुलिससँग १–० गोलले हार व्यहोरेपनि यसपटक उपाधि जित्ने लक्ष्यका साथ नै पोखरा आएको बताए । यद्यपी, खेलाडीहरु सोमबारको पृथ्वीराजमार्ग बन्दका कारण राति नौ बजेसम्म पोखरा आउन नसकेकाले हतारमा आएपनि मैदानमा खरो उत्रने विश्वास लिए । ‘लिग खेलिरहेका खेलाडीहरु छन् । सबै फिट एण्ड फाईन छन् ।’ थापाले भने– ‘मनोबल उच्च भएकाले हामीले जित्नेमा आशावादी छौं ।’ उनका नवजनजागृतिका खेलाडीहरुमा सुसन लामा, रवि थापा, दिनेश कार्की, कुमार गिरी, मनिष गुरुङ, जनक कार्की, अजय विक लगायत छन् ।

गत वर्ष सुदुरपश्चिम टीमको प्रशिक्षकका रुपमा प्रतियोगितामा सहभागी किरण श्रेष्ठ भने फेरि सहारा क्लबमै फर्किएका छन् । ११ औं संस्ककरणमा थ्रीस्टारसँग फाईनलमा १–० ले पराजित भएपनि १२ औं संस्करणमा सहाराले मनाङमस्र्याङ्दीलाई १–० ले नै पराजित गर्दै उपाधि जितेको थियो । एक वर्षको अन्तरालमा क्लब सम्हालेका उनले यसपटक ए डिभिजनका अनुभव लिएका खेलाडीको जमात रहेकाले उपाधि नै जित्ने लक्ष्य लिएको बताउँछन् । ‘अनुभवीदेखि किशोर खेलाडी सहभागी छन् । हामी बलिया छौं ।’ श्रेष्ठले भने– ‘तयारी पनि राम्रो छ । उपाधि बाहिर जान दिँदैनौं ।’ सहाराका तर्फबाट यसअघि मनाङबाट खेल्दै आएका भरपर्दा खेलाडीहरु शिव श्रेष्ठ, रुपेश केसीसँगै क्या. उत्तम गुरुङ, बुद्ध लामा, सनि, विनय श्रेष्ठ, सुजित गुरुङ, गौरव थापा, सुजन थापा, कमल थापा र शिव सुवेदी छन् ।

उद्घाटन खेलका विजेताले माघ ९ गते युनाईटेड सिक्किम एफसी ईण्डियासँग खेल्नेछ । दोस्रो प्रिक्वार्टर फाईनलमा नेपालको एपीएफ र ईण्डियन आर्मी गोर्खा ब्रिगेडबीच खेल हुनेछ भने तेस्रो दिन माघ ७ गते आर्मीले जावलाखेलसँग प्रतिष्पर्धा गर्नेछ । अन्तिम प्रिक्वार्टर फाईनलमा माघ ८ गते पुलिस र झापा ११ बीच खेल हुनेछ ।

माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक सहारा क्लब र नव जनजागृति सिमरासँगै थ्रीस्टार क्लब, मनाङ्ग मस्याँङ्गदी क्लब, नेपाल पुलिस, नेपाल आर्मी, सशस्त्रको एपीएफ, झापा ११, जावलाखेल युथ क्लब, ईन्डियन आर्मी गोर्खा ब्रिगेड टीम, युनाईटेड सिक्किम एफ.सि. तथा रहमदगञ्ज एम एफ सोसाईटी, बंगलादेशको सहभागिता रहनेछ । प्रतियोगितामा झण्डै २० लाख बचत गर्ने लक्ष्य लिईएको छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउनको मुख्य प्रायोजन रहेकोे प्रतियोगितामा विजेता टीमले पाँच लाख एक हजार एक रुपैया, उपविजेता टीमले दुई लाख ५१ हजार एक रुपैयाँ नगद, कप, मेडल र प्रमाण पत्र पाउनेछ ।

पूर्व कप्तान गणेश गुरुङलाई सम्मान

तीसको दशकमा गण्डकी क्षेत्रमा चर्चित रहेका पुर्व खेलाडी गणेश गुरुङलाई सहरा क्लबले प्रतियोगिता शुभारम्भका अवसरमा सम्मान गर्दैछ । उनले लामो समय फुटबल क्षेत्रमा दिएको योगदानको कदर गर्दै क्लबले सम्मान गर्ने भएको अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए ।

ब्रिटिश गोर्खा सैनिकका क्याप्टेन रहेका गुरुङले २०१६ देखि २०३८ सम्म यहाँको फुटबललाई योगदान दिए । गण्डकी अञ्चल स्तरीय नर ट्रफी कप २०२९ मा उपाधि दिलाएका थिए । काठमाण्डौंमा २०३२ मा भएको बर्थ डे कपमा पनि उनले टीमको नेतृत्व गरेका थिए भने पाल्पामा २०३८ मा भएको करुवा कपमा म्यान अफ दि म्याच भएका थिए ।

Photo:Umesh Pun

कमेन्ट गर्नुहोस्
Share: