
रञ्जन अधिकारी पोखरा, ६ माघ / दुई विभागीय टोलीबीचको प्रतिस्पर्धामा भारतको गोर्खा ब्रिगेड टीमले क्वार्टरफाईनलमा स्थान सुरक्षित गर्दा नेपालको एपीएफ पहिलो खेलबाटै बाहिरियो । पहिलो रोजाईका सात खेलाडी विना मैदान उत्रिएको एपीएफ पहिलो खेलबाटै पोखरा छाड्न बाध्य भएको हो ।
पोखरा रंगशालामा जारी १४ औं आहा रारा गोल्डकपमा पाहुना टोली ईन्डियन आर्मी गोर्खा ब्रिगेडले सशस्त्र प्रहरीको एपिएफलाई २–१ ले हराउँदै क्वार्टरफाईनल प्रवेश गरेको हो । बुधबार भएको दोस्रो प्रिक्वार्टरफाईनल खेलमा ईन्डियन आर्मी गोर्खा ब्रिगेडका लागि विक्रम राई र अजय तामाङले गोल गरे । एपीएफका तर्फबाट प्रविण स्याङ्तानले गोल फर्काएपनि जीतका लागि पर्याप्त बनेन ।
खेलको ११ औं मिनेटमा ११ नं. जर्सी लगाएर मैदान उत्रिएका विक्रमले गोल गरेपछि पाहुना टोलीको मनोबल बढ्यो । उनले विपक्षी गोलरक्षक विक्रम गुरुङलाई कुनै मौका नै दिएनन् । निकै प्रतिष्पर्धात्मक खेलमा एपीएफले लगातार मौका चुकायो ।। पहिलो हाफमा १–० गोलले पछि परेको एपीएफका लागि ५५ औं मिनेटमा प्रविण स्याङ्तानले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा पु¥याए । श्याम नेपालीको क्रसमा उनले बललाई जाली चुमाए । खेलको ८२ औं मिनेटमा अजय तामाङले गोल गर्दै टोलीको जीत सुनिश्चित बनाए । दोस्रो गोलमा पनि विक्रम राईले तामाङलाई सघाए । २३ औं मिनेटमा विक्रम राईको प्रहार एपीएफ रक्षक विक्रम गुरुङले बचाउ गरेका थिए । गोर्खा ब्रिगेडका अजय तामाङ खेलमा म्यान अफ द म्याच बने ।
एपीएफका धेरै अवसर खेर गयो । ईण्डियन गोर्खाका कप्तान समेत रहेका गोलरक्षक मणि थापाले एकपछि अर्को प्रहार विफल बनाए । २० औं मिनेटमा एकपछि अर्को प्रहार विपक्षी रक्षकले वचाउ गरे । २१ औं मिनेटमा कप्तान गणेश लावतीको एकल प्रयास असफल बन्यो । २८ औं मिनेटमा विपक्षी गोलरक्षकले फेरि बचाउ गरे । ६८ औं मिनेटमा कप्तान लावतीले पुनः मौकाको सदुपयोग गर्न सकेनन् ।
यो खेलमा चार खेलाडीले पहेंलो कार्ड पाए । एपीएफका रमेश दंगाल र गोर्खा ब्रिगेडका सागर लिम्बु, सुशान्त मल्ल र अजय तामाङलाई रेफ्री सुदिश पाण्डेले एल्लो कार्ड देखाएका हुन् । गोर्खा ब्रिगेडको यो दोस्रो सहभागिता हो । ११ औं संस्करणको सहभागितामा पहिलो खेलमै क्वार्टरफाईनलमा जावलाखेल युथ क्लबसँग २–० गोलले पराजित भएको थियो । छैटौं संस्करणमा उपविजेता बनेको सशस्त्रको भने यो आठौं सहभागिता हो ।
खेलपछि विजयी टीम गोर्खा ब्रिगेडका प्रशिक्षक नर्गेन लामाले नेपालका सबै टीमहरु राम्रा भएकाले पूर्ण तयारीका साथ आएकाले पहिलो खेलमा सफल भएको बताए । उनले माघ १० गते हुने मनाङ मस्र्याङ्दीक्लबसँगको खेलमा उच्च मनोबलका साथ मैदान उत्रने बताए ।
एपीएफका प्रशिक्षक कृष्ण थापाले पहिलो रोजाईका सात खेलाडीको अभाव खड्किएको बताए । ‘खेलाडी नै छैन त के गर्ने ? सात जना खेलाडीहरु ढाकामा छन्, यहाँ नभएपनि उता जित्यो खुशी छौं ।’ उनले भने– ‘ भारतको टीमलाई हामीले जित्नुपर्ने थियो । गणेश जस्तो अनुभवी खेलाडी गोल गर्न चुकेपछि नै खेल बिग्रियो ।’
बंगबन्धु गोल्डकपमा एपीएफका गोलरक्षक अमृत चौधरीसँगै स्ट्राईकर रञ्जन विष्ट, अञ्जन विष्टका साथ नविन लामा, हेमन गुरुङ, जङ्बो शेर्पा, आदित्य चौधरी खेल्न गएका छन् ।
प्रतियोगिता अन्तर्गत विहीबार जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब खेल्नेछन् । प्रतियोगिताको फाईनल खेल माघ १६ गते हुनेछ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरु, आयोजक र तीन विदेशी सहित १२ टिमको सहभागिता छ । हिम श्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक तथा उपविजेताले दुई लाख ५१ हजार एक रुपैया नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
