डा. गोविन्द केसीले सोमबारदेखि पुनः अनसन थाल्ने

Share:

काठमाडौं, ७ माघ-
चिकित्सा शिक्षा क्षेत्रका विकृतिविरुद्ध आन्दोलरत डा. गोविन्द केसीले सोमबारदेखि आठौं अनशन थाल्ने घोषणा गरेका छन् । सुरुमा एक साता र त्यसपछि दुई साता लामो अल्टिमेटम दिएका डा. केसीले आगामी सोमबार ५ बजेदेखि आठौं चरणको अनशन थाल्ने घोषणा गरेका हुन् ।

चिकित्सा शिक्षा आयोग, ऐन गठन प्रक्रिया रोकेर मनमोहन मेडिकल कलेजलाई चिकित्सा विज्ञान प्रतिष्ठान अगाडि बढाएको भन्दै डा. केसीले पुस १५ गते पहिलोपटक अल्टिमेटम दिएका थिए । त्यस अवधिमा सरकारका तर्फबाट आग्रह आएको भन्दै दुई साता थपेका डा. केसीले त्यस अवधिमा पनि माग पूरा नगरेको भन्दै बुधबार नयाँ कार्यक्रम घोषणा गरेका हुन् ।
उनले चिकित्सा शिक्षा आयोग तत्काल गठन गरी नीति मस्यौदालाई अविलम्ब ऐनका रुपमा जारी गर्नुपर्ने, नीति र नयाँ नीति नआउँदासम्म प्रतिष्ठानका रुपमा मेडिकल कलेज थप्ने गरी पठाएको विधेयक फिर्ता गर्नुपर्ने माग राखेका छन् । त्यसैगरी उनले विश्वविद्यालय पदाधिकारी चयनमा राजनीतिक हस्तक्षेप रोक्न विगतमा गरिएको सहमतिबमोजिम तत्काल कानुनी व्यवस्था गर्नसमेत माग गरे ।

उनले अल्टिमेटम अवधि सकिएको भन्दै माग पूरा गर्ने दिशामा राज्यले ठोस कदम नचालेकाले नयाँ चरणको आन्दोलन सुरु गर्न बाध्य भएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: