
काठमाडौँ, ८ माघ-
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध राजनीतिक दलले संसद्को आजको बैठक बहिष्कार गरेका छन् ।
सभामुख ओनसरी घर्तीले संसद्को बैठक प्रारम्भ भएको घोषणा गर्ने बित्तिकै मधेस केन्द्रित दलका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।
सभामुख घर्तीले विरोध गरेर उभिरहेका सांसदमध्ये सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णलाई आफ्नो भनाइ राख्न अनुमति दिएपछि सांसद कर्णले मोरङमा बिहीबार सरकारका तर्फबाट दमन गरिँदा तीनजनाको ज्यान जानुका साथै ३० जना आन्दोलनरत पक्षका व्यक्ति घाइते भएको भनी आक्रोश व्यक्त गरे ।
उनले भने – “मधेसमा आन्दोलन चलेको पाँच महिना भयो । मधेसी, आदिवासी र जनजातिको मागलाई सम्बोधन गर्नुपर्नेमा उल्टै सरकार दमनमा उत्रेको छ ।” मोरङमा बिहीबार भएको घटनामा द्रौपदी चौधरी, महादेव ऋषिदेव र शिबु माझीको गोली लागी मृत्यु भएको जानकारी दिँदै नेता कर्णले मोरङको अर्को घटनामा युवा सङ्घका कार्यकर्ताले साङ्घातिक हमला गरी सद्भावना पार्टीका प्रवक्तालाई गम्भीर घाइते बनाएको बताए ।
सरकारले मधेसमा दमन र आतङ्क फैलाउने काम गरिरहेको भए पनि आफूहरु वार्तामा सहभागी भइरहेको उनको भनाइ थियो । उनले जुन दिन निर्णायक वार्ता भनेको छ त्यही दिन घोर दमनका घटना घटाउने सरकार सहमति चाहँदैन भन्ने यो घटनाबाट पुष्टि हुन्छ भने ।
