
माघ ८ / नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार बंगलादेशमा भइरहेको बंगबन्धु गोल्डकप जितेको छ । नेपाली फुटबलका लागि ऐतिहासिक सावित दिन ढाकाको बंगबन्धु रंगशालामा बहराइनको यू–२३ माथि ३–० को जित हात परेको हो । यो २३ वर्षयता नेपालले जितेको पहिलो उपाधि हो । नेपालले दक्षिण एसियाली देशबाहेक अरु टिम पनि सम्मिलित प्रतियोगिता जितेको यो पहिलो पल्ट हो ।
नेपालका लागि विमल घर्तिमगरले चौथो मिनेटमा गोल गरे । खेलको ८७ औं मिनेटमा विशाल राईले दोस्रो गोल थपे । अञ्जन केसीको उत्कृष्ट पासमा विशालले गोल गरेका हुन् । खेलको इन्ज्युरी समयमा विमलको क्रसमा नवयुग श्रेष्ठले हेडबाट गोल गरे र नेपालको जित निश्चित पारे । नेपालले आफ्नो फुटबल इतिहासमा उपाधि जितेको यो तेस्रो पल्ट हो ।
नेपालले उपाधिसँगै ५० हजार डलरको पुरस्कार राशि पनि जित्न सफल रह्यो । यसअघि नै राष्ट्रिय खेलकुद परिषदले पनि विजेता नेपाली टिमका प्रत्येक सदस्यलाई दुई लाख रुपैंया प्रदान गर्ने घोषणा गरिसकेको छ । बहराइनले भने उप–विजेताका रूपमा २५ हजार डलरमा चित्त बुझायो ।
पूरा प्रतियोगितामा नेपाल अपराजित पनि रह्यो । प्रतियोगिताको अपराजित नेपालले आठ गोल गर्यो भने एक गोल मात्र खाएको थियो। लिग चरणमा नेपालले फेल्डा र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने श्रीलंकालाई १–० ले हराएको थियो । यस्तै सेमिफाइनलमा नेपालले माल्दिभ्सको चुनौतीलाई अविश्वसनीय रूपमा ४–१ ले पन्छाएको थियो ।
तीव्र गतिमा खेलिएको फाइनलमा बहराइन शारीरिक रूपमा अत्याधिक आक्रामक देखिएको थियो र नेपाली खेलाडी चोटबाट गुज्रिन पनि बाध्य रहे । खेलको अन्त्यमा बहराइन नौ खेलाडीमा र नेपाल दस खेलाडीमा सीमित रहेको थियो । नेपालका लागि गोलरक्षक विकेश कुथुले फेरि एकपल्ट उत्कृष्ट बचाउहरू गरे । नेपाली डिफेन्सको प्रदर्शन पनि सुदृढ रह्यो ।फिफा बरियतामा नेपालभन्दा बहराइन निकै माथिल्लो स्थानमा रहेको छ। नेपाल १९६ औँ स्थानमा छ भने बहराइन १२१ औँ स्थानमा छ। नेपाल र बहराइनको औपचारिक रुपमा भने यो पहिलो भेट हो।
फिफाले बहराइनको यु २३ सँगको खेललाई अन्तर्राष्ट्रिय खेलको मान्यता दिएन। दुई देशको सिनियर राष्ट्रिय टोलीबीचको प्रतिस्पर्धाले मात्र अन्तर्राष्ट्रय खेलको मान्यता पाउने फिफाको नियममा छ।
खेल मिलामतोको विवाद र नेतृत्व तहमा रहेकामाथिको प्रतिबन्ध काण्डबीच ओरालो लागेको नेपाली फुटबलले लामो समयपछि यो सफलता आत्मसात् गरेको हो । पूरा प्रतियोगितामा ‘अन्डर डग’ को उपमा पाएको नेपाल विवाद र काण्डबीच पछिल्लो समय फिफा वरीयतामा दक्षिण एसियाली देशमध्ये पनि पुछारमा रहेको छ ।
विमलको उत्कृष्ट गोल
विमलले खेलको सुरुमै गोल गरेका हुन् । कप्तान विराज महर्जनले निकालेको सुन्दर क्रसमा नवयुग श्रेष्ठले गरेको हेड बहराइनका गोलरक्षकले बचाएपनि त्यसै स्थितिमा निस्केको रि–बाउन्डलाई विमलले नजिकको दूरीबाट सजिलै गोल गरे ।
विमलको यो व्यक्तिगत चौथो गोल हो । बहराइनको ओलम्पिक टिम रहेको हुँदा यो गोल भने राष्ट्रिय टिमको तथ्यांकमा गणना गरिने छैन् । उनले यसै प्रतियोगिताको लिग चरणमा श्रीलंकाविरुद्ध पनि गोल गरेका थिए । विमलको यसअघिका गोल पाकिस्तान र भारतविरुद्ध रहेको छ । विशालको पनि प्रतियोगितामा यो दोस्रो व्यक्तिगत गोल हो । उनले यसअघि माल्दिभसविरद्ध पनि गोल गरेका थिए ।
नेपालको बदला
अहिलेसम्म नेपालले बहराइनको राष्ट्रिय टिमको सामना गरेको छैन् । तर सन् २००३ मा नेपालले बहराइनको मनामामा भएको फ्रेन्ड्ली खेलमा बहराइनको यू–२३ टिमसँग खेलेको थियो र त्यसमा नेपाल ३–० ले पराजित रहेको थियो । अहिलेको जितसँगै नेपालले त्यसको बदला लिन भने सफल भएको छ ।
इतिहास दोहरिदैं
नेपाली फुटबल इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जित्नु रहेको छ र यो सफलता ढाकाको बंगबन्धु रंगशालामै प्राप्त भएको थियो । त्यति बेलाको नेपाली टिमका सबैभन्दा ठूलो स्टार उपेन्द्रमान सिंह अहिलेको राष्ट्रिय टिमका गोलरक्षक प्रशिक्षक रहेका छन् ।
सन् १९९३ को फाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–३ ले हराएको थियो र त्यसमा १९ वर्षीय उपेन्द्रले उत्कृष्ट बचाउ गरेका थिए । निर्धारित र अतिरिक्त समयको खेल भने २–२ को बराबरीमा रहेको थियो । अहिलेको टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जन पनि त्यस स्वर्ण पदक विजेता टिमका सदस्य थिए ।
नेपालले सन् १९८४ मा काठमाडौँमा भएको चौथो साग र बङ्गलादेशको ढाकामा सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा जितेको उपाधि बाहेक अहिलेसम्मको खेलमा वरिष्ठ टोलीले पदक जित्न सकेको छैन। नेपालले १९८४ मा जितेको पदक नै अन्तर्राष्ट्रियस्तरको पहिलो पदक हो ।
त्यस्तै नेपालले घरेलु मैदानमा सन् १९९९ मा भएको आठौँ सागको फाइनल खेल खेलेको थियो । त्यतिबेलाको फाइनलमा बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएको थियो।
बङ्गलादेश फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा सार्क राष्ट्रका श्रीलंका, बंगलादेश, माल्दिभ्ससहित आठ टोलीले सहभागिता जनाएका थए।
सन् १९९६ देखि सुरु भएको बंगबन्धु गोल्डकमा नेपालले यसअघि सन् १९९९ मा सहभागिता जनाएको थियो। त्यतिबलाको खेलमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । करिब बीस वर्षमा प्रतियोगिता चार पटक मात्र आयोजना भएको छ।
नवयुग म्यान अफ द टुर्नामेन्ट, फाइनलको म्यान अफ द म्याच विमल
बंगबन्धु गोल्डकप जितेको नेपाली टिमका दुई युवा नवयुग श्रेष्ठ र विमल घर्तीमगर खेलाडीले दर्शकमाझ आफ्नो प्रभाव छोड्न सफल भएका छन् । सेमीफाइनलमा ३ र फाइनलमा १ गोल गरेका नवयुग प्रतियोगिताकै सबभन्दा धेरै गोलकर्ता र ‘मस्ट भ्यालुएबल प्लेयर’ अर्थात् म्यान अफ दि टुर्नामेन्ट बने ।
फाइनल खेलमा निकै राम्रो प्रदर्शन गरेका विमल म्यान अफ दि म्याच बने । फाइनलमा उनले एक गोल गरे भने अर्कोमा ‘असिस्ट’ गरेका थिए । सेमिफाइनलमा माल्दिभ्सविरुद्ध हृयाटि्रक गरेका नवयुगले फाइनलमा समेत एक गोल गरेका थिए । प्रतियागितामा उनले कुल चार गोल गरेका थिए । नवयुग सेमिफाइनलमा म्यान अफ दि म्याच भएका थिए ।
नवयुग नेपाली आर्मीका खेलाडी हुन् । विमलले सुदूरपश्चिमबाट राष्ट्रिय लिग खेलेका थिए । विमलको कप्तानीमा नेपालले साफ अन्डर–१९ च्याम्पियनसिप जितेको थियो । उनले बेल्जियमका एन्डरलेच्त लगायत तीन क्लबमा प्रशिक्षण पनि लिएका थिए ।
उपाधि जित्ने खेलाडीलाई एन्फाले ५–५ लाख दिने
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिमका सबै खेलाडीलाई ५–५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । टिमका २३ खेलाडी दुई प्रशिक्षक (बालगोपाल महर्जन र उपेन्द्रमान सिंह) र एक चिकित्सकले ५–५ लाख रुपैयाँ पाउने छन् ।
एन्फाका कार्यबहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले भने, ‘२३ वर्षपछिको यो जितले हामी उत्साहीत भएका छौं । खेलाडीले खेल पनि धेरै राम्रो खेले । उनीहरुलाई सम्मान गर्नुपर्छ ।’
यसअघि नै राष्ट्रिय खेलकुद परिषद्ले उपाधि जितेमा टिमका खेलाडीलाई २-२ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।
प्रधानमन्त्रीको पनि बधाई
बंगबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टिमले ऐतिहासिक जीत हासिल गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी व्यक्त गरेका छन् ।
बहराइनको यू–२३ टिमलाई ३–० को जीत हासिल गरेर नेपाली टिमले सफलता हात पारेकोमा प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बधाई ज्ञापन गरेका हुन् । ‘२३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त यो सफलताप्रति नेपाल सरकार र उहाँको व्यक्तिगत तर्फबाट पनि प्रधानमन्त्रीले बधाइ दिनु भएको’ प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जनाएका छन् ।
प्रधानमन्त्रीले सरकारको तर्फबाट खेलकुदको प्रवद्र्धनका लागि सदैव सहयोग रहने विश्वास दिलाएको विज्ञप्तीमा उल्लेख छ ।
Source: Ekantipur.com & Setopati.com

