
पोखरा ८ माघ / पोखराको ब्यस्त बजार बगरमा शुक्रवार दिउँसो चितुवाको आक्रमणवाट जिल्ला वन कार्यालय कास्कीका सशस्त्र वन रक्षक बिनोद थापा घाइते भएका छन् । यहाँको बगरस्थित विन्द्यावासिनी स्टोर्समा दिउँसो करिव दुई बजे पसेको चितुवाको उद्धार गर्ने क्रममा वन रक्षक थापालाई आक्रमण गरेको हो ।
उनलाई चितुवाले टाउकोमा टोकेको थियो । थापाको स्थानीय फिष्टेल हस्पतालमा उपचार भइरहेको छ । टाउको जोगाउन हात टाउँकोमा राखेकोले हातसमेत चितुवाले टोकेको छ । टाउकोमा गहिरो चोट नलागेकोले उनि खतरा मुक्त छन् । दिउँसो करिव दुई बजे चितुवा विन्ध्यवासिनी स्टोरमा पसेको थाहापाएपछि वनरक्षक सहितको उद्धार टोली खटाइएको जिल्ला वन कायालय कास्कीका प्रमुख जिल्ला वन अधिकृत प्रभात सापकोटाले बताए ।
चितुवा उद्धार गर्न जाँदा जम्मा भइसकेको भीड हटाएर चितुवालाई पासोमा पार्ने तयारी गर्दै गर्दा बोरा जस्तै लुटपुटिएर बसेको बेला अतालिएको चितुवाले वनरक्षक थापालाई एक्कासी झम्टीएर घाइते बनाएको उनले बताए । माउ र बच्चा दुई चितुवा स्टोर्सभित्र हुन सक्ने उनले बताए । बच्चासहीत भएकोले पनि माउ अत्तालिएर झम्टेको हुनसक्ने उनले सुनाए ।
चितुवाको उद्धारका लागि दिनभर प्रयास गरेपनि सफल हुन नसकेको पनि उनले सुनाए । एउटा बाटोमात्र खुला राखेर सबै बाटाहरु बन्द गरि त्यहाँ केज राखेर पक्रने प्रयास भइरहेको उनले सुनाए । राति सबै खुला गरेर बाहिर निस्कन दिने प्रयास गर्नेछौँ’, उनले भने, ‘त्यो सफल भएन भने ललितपुरस्थित चिडीयाखानावाट डाटिङको टोली पठाउन खबर गरिसकेकोले शनिवार त्यो टोली आएर उद्धार गर्नेछ ।’
विन्द्यावासिनी स्टोरका सञ्चालक रविन्द्र सापकोटाले एक्कासी चितुवा पसलमा छिरेको देखेपछि ग्राहक र कर्मचारीसहित बाहिर निस्केको बताए ।
– कृष्णमणि बराल annapurnapost | तस्बिर : गोकुल बानियाँ
