
रञ्जन अधिकारी पोखरा, ९ माघ / सांस्कृतिक रुपान्तरणका लागि स्रष्टाहरुले भ्रम चिर्न सक्नुपर्नेमा जोड दिईएको छ । संस्कृति अपरिवर्तनशील, अकाट्य र शाश्वत विषय ठानिएपनि त्यसो नभएकाले युग सापेक्ष संस्कृति परिवर्तनशील रहेको र समयक्रमसँगै सुधार गर्दै जानुपर्नेमा जोड दिईयो । अब सांस्कृतिक क्रान्ति आवश्यक रहेको र यसबाट श्रमजीवि, सर्वहारा वर्गको पुरानो विचार, सोँच, चिन्तन र संस्कृतिलाई नै बदल्नुपर्ने खाँचो समेत औंल्याईयो ।
नेपाल प्रगतिशिल लेखक सङ्घ कास्कीले आयोजना गरेको सांस्कृतिक रुपान्तरणमा स्रष्टाहरुको भूमिका विषयक अन्र्तक्रियामा कार्यपत्र प्रस्तोता ईश्वरचन्द्र ज्ञवालीले वैचारिक धरातलसँगै सामाजिक, आर्थिक पक्ष समेत संस्कृतिमा समेटिने भएकाले भौतिक संरचनाको दृष्टिकोण र आर्थिक दृष्टिकोणले संस्कृतिलाई बुझ्नुपर्ने बताए । कार्यपत्रमा संस्कृतिको चर्चा, यसको विविधता, संस्कृति र श्रमसम्बन्ध, सांस्कृतिक रुपान्तरण, मुक्तिको अर्थ र सांस्कृतिक सम्बन्ध, पुराना संस्कृतिको सारतत्व, संस्कृतिमा युग सापेक्षता, संस्कृतिमाथि बुर्जुवा दृष्टि, सांस्कृतिक परिवर्तनमा विभ्रम र स्रष्टाहरुको भुमिकाका सन्दर्भलाई प्रष्ट पार्ने कोशिस ज्ञवालीले गरे । सांस्कृतिक रुपान्तरण विनाको राजनैतिक रुपान्तरण अधुरो र अपुरो रहेको माओको भनाई स्मरण गर्दै उनले एक वर्गको संस्कृति अर्को वर्गको संस्कृतिमा फेर्न ज्यादै कठिन रहेको बताए । जनताका भ्रम, विचार दृष्टिकोण, सोचाईं तथा मुल्यमान्यतामा फेरवदल गर्ने साधन नै साहित्य, कला, समाचार भएकाले श्रष्टा, पत्रकारहरु यथास्थिति र सुधारवाद सम्बन्धमा भण्डाफोर गर्न कस्सिनुपर्ने आवश्यकता औंल्याए ।
ज्ञवालीले प्रस्तुत गरेको सांस्कृतिक रुपान्तरणमा स्रष्टाहरुको भूमिका विषयक कार्यपत्रमाथि टिप्पणीकार रघुनाथ अधिकारीले समग्रमा सहमति जनाए । यद्यपी पारदर्शी ढंगले विषय प्रवेश नभएको टिप्पणी गरे । बोलाई एकातिर, गराई अर्कोतिर हुँदै आएकोमा लेखले सो विषयलाई सशक्त ढंगले समावेश गर्न नसकेको भन्दै व्यवहारिकतामा उनले जोड दिए ।
अर्का टिप्पणीकार रामराज रेग्मीले मेहनतका साथ लामो कार्यपत्र तयार भएपनि केहि कमी भएको उल्लेख गरे । उनले श्रष्टाको भुमिका भन्दा संस्कृति र सांस्कृतिक रुपान्तरणकै विषयमा कार्यपत्र प्रस्तोता अड्किएकाले सारतत्व गहिराईमा नभएको टिप्पणी गरे । लेखकमा अनुसन्धान, अध्ययन कम हुँदा बजारमा समाजलाई बुझाउने गरी परिस्कृत ढंगले नआउने गरेको प्रसंग कोट्याउँदै उनले यही कार्यपत्रमा पनि अमेरिकन, युरोपियन लेखक र यहाँका लेखकबीच भिन्नता, प्रगतिशिल र समानधार लेखकबीचको फरकबारे कुनै विषयले प्रवेश नपाएको गुनासो गरे ।
यस्तै, बामपन्थी नेता टेकनाथ बरालले प्रगतिशिल भन्दै पदमा पुग्ने र आचार व्यवहार थोरैपनि प्रगतिशिल नहुने गरेको तीतो यथार्थबारे दुःखेसो पोखे । कुरा गर्ने तर काम नगर्ने, लाभको पदमा पुगेपछि वर्ग परिवर्तन हुने र आफ्नो धरातल भुल्ने सुविधामुखी व्यवहारको उनले विरोध गरे ।
सङ्घ कास्कीका अध्यक्ष डा. कृष्णराज अधिकारीको अध्यक्षतामा भएको अन्र्तक्रियामा महेन्द्रमान व्यथित, छवि सुवेदी ‘विजयी’, दिवाकर सुवेदी, लक्ष्मी शर्मा अधिकारी, डा. पशुपतिनाथ तिमिल्सेना, गेहेन्द्रभुषण पोख्रेली, लोकबहादुर थापा, गोविन्द सुवेदी र विजया सुवेदीले आफ्ना धारणा राखेका थिए । उपाध्यक्ष पद्मराज ढकालले स्वागत र सचिव भीम रानाभाटले कार्यक्रमको सञ्चालन गरेका थिए ।
