
काठमाडौँ, १० माघ-
मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा सरकारले आजदेखि सहिद सप्ताह मनाउँदैछ । आजदेखि १६ गतेसम्म मनाइने सहिद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आएको छ ।
यस वर्ष पनि महानगरपालिकाले चार सहिदलाई मृत्युदण्ड दिइएको स्थानमा गएर श्रद्धाञ्जलि कार्यक्रम गर्नाका साथै प्रभातफेरी आयोजना गर्ने भएको छ । सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले तत्कालीन निरंकुश जहानियाँ राणा शासन अन्त्यको अभियानमा समाहित भई प्राण आहुति दिनुभएको थियो ।
सहिद शुक्रराज शास्त्रीलाई पचलीमा माघ १० गते, धर्मभक्त माथेमालाई सिफलमा १३ गते तथा १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गएर श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ । राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।
त्यस्तै, माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका विभिन्न अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण सहिदहरुको सम्झना गरिन्छ । समितिले माघ १६ गते रत्नपार्कस्थित शान्तिबाटिकाबाट प्रभातफेरी सुरु गरी लैनचौरस्थित सहिद स्मारकमा गएर कार्यक्रम गर्ने जनाएको छ ।
